एमसीसीलाई गठबन्धनसँग जोड्न हुँदैन – झलनाथ खनाल
सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताले गठबन्धन नभत्किने गरी एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् ।
शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरूबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति जुटाउन छलफल भएको हो ।
छलफलपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा सहमतिको बाटो पहिल्याउने प्रयास भइरहेको जानकारी दिए ।
उनले समस्याको समाधान हुने गरी छलफल भइरहेको समेत बताए । गठबन्धन नटुट्ने दाबी पनि उनले गरे ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसक्ने अडान कायम रहेको बताए ।
एमसीसीको मुद्दाले धेरै विषयलाई असर पार्ने भएकाले संसद्मा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उनको भनाइ छ । उनले एमसीसीलाई गठबन्धनसँग जोड्न नहुने जिकिर गरे ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गी विकल्पका विषयमा कुनै छलफल नभएको बताए ।
उनले मुलुकको हितविपरीतका प्रावधानलाई नसच्याएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिए ।
एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरू आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।
एमसीसीका कारण दुईपटक स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ ।