अमेरिका रिसाएमा नेपालमा आर्थिक संकट आउन सक्छ – सुरेन्द्र पाण्डे
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौती र समाधानका उपायको खोजी’ विषयक अन्तरक्रियामा पाण्डेले नेपालले एमसीसी सम्झौता अस्वीकार गर्दा अमेरिका रिसाएमा आर्थिक संकट आउन सक्ने बताएका हुन् ।
“नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आउनसक्छ । नेपालले एमसीसी सम्झौता अस्वीकार गर्दा अमेरिका रिसाएमा आर्थिक जोखिम र संकट आउन सक्छ,” उनले भने ।
अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने पाण्डेको भनाइ छ ।
रेमिट्यान्स भित्रिने देशसँग अमेरिकाको निकट सम्बन्ध रहेकाले नेपालमा अनुदानको बाटो खुला राख्न पनि अमेरिकासँग असहमति राख्न नहुने उनले बताए ।
साथै, पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भीर हुनुपर्ने बताए ।