उपेन्द्रको ‘एकलौटीविरुद्ध’ भट्टराई पक्षद्वारा देशैभर हस्ताक्षर संकलन
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र ‘एकलौटी गरेको’ भन्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समूहले देशैभर हस्ताक्षर संकलन गरेको छ।
पार्टी भित्र ‘सामूहिक तथा समावेशी नेतृत्व’ को आफ्नो मागलाई अध्यक्ष यादवले सम्वोधन गर्न आनाकानी गरेपछि भट्टराई पक्षधरले देशैभर हस्ताक्षर संकलन गरेको हो।
आजदेखि काठमाडौँमा सुरु हुने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ‘सामूहिक तथा समावेशी नेतृत्व’ को मागलाई छलफलमा लैजाने तर सो मागलाई सम्वोधन गर्न अध्यक्ष यादवले आनाकानी गरेर विधानत: २५ प्रतिशतभन्दा बढीको हस्ताक्षर बुझाएर केन्द्रीय समितिको बैठक बोलाउने योजनाअनुसार सो हस्ताक्षर संकलन गरिएको हो।
‘जसपा नेपालका मुख्यतः तीनवटा ठूला खस आर्य, आदिवासी/जनजाति र मधेसी ‘क्लस्टर’हरुको प्रतिनिधित्व गर्ने पार्टी हो, यसको एकता र एकीकरण पनि सोहीअनुसार भएको हो भन्ने भुल्नु हुँदैन’, कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘बदलिँदो देशको परिस्थिति र पार्टी एकताको पृष्ठभूमिलाई हेर्दै अब एकल नेतृत्वमा होइन, समावेशी र सामूहिक नेतृत्व पार्टीभित्र हुनुपर्छ भन्ने अजेन्डा राख्दै आएका छौं, त्यसमा सम्बोधन गर्ने काम भइरहेको छैन।’
उनका अनुसार देशैभरका नेता तथा कार्यकर्ताले सो माग गर्दा पनि सो विषयमा छलफल चलाउन नेतृत्वले आनाकानी गरिरहेको छ।
सो विषयमा केन्द्रीय अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई, अशोक राई, महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठका बीचमा लाजिम्पाटदेखि बालकुमारीसम्म पटक-पटक छलफल भए पनि अध्यक्ष यादवले आनाकानी गरेपछि सो विषय जसपामा पेचिलो बन्दै गएको छ।
‘पटक-पटक समावेशी र सामूहिक नेतृत्वका बारेमा नेतृत्वलाई ध्यानाकर्षण गराउँदा पनि सम्वोधन नभएपछि हामीले मुलुकका ७ वटै प्रदेशबाट हस्ताक्षर संकलन सुरु गरेका हौं’, सिंहले भने, ‘७ वटै प्रदेशका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने हाम्रो उदेश्य हो, हस्ताक्षर संकलन उत्साहजनक रुपमा भइरहेको छ।’
उनका अनुसार सो हस्ताक्षर संकलन बुझाएर केन्द्रीय समिति बैठक बोलाउन बाध्य बनाउनेबाहेक अर्को उद्देश्य राखिएको छैन। ‘हस्ताक्षर संकलनलाई पार्टी विभाजनको रुपमा व्याख्या गर्ने काम भएको छ, यो हुँदै होइन, नेतृत्वलाई जवाफदेही बनाउन र पार्टीलाई पार्टी जस्तो बनाउन यो हस्ताक्षर संकलन गरिएको हो’, सिंहले भने।
तत्कालीन भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपामा एकीकरण भएका सिंहका अनुसार कार्यकारिणी समिति बैठकबाट ‘समावेशी र सामूहिक नेतृत्व’का बारे निर्णय हुन नसकेमा केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय लिइनेछ। तर, कति संख्यामा हस्ताक्षर संकलन भयो, त्यो भने नेता सिंहले खुलाउन चाहेनन्।
‘हामी शीर्ष ५ नेतृत्वमा, केन्द्रीय कार्यकारिणी समितिमा, केन्द्रीय समितिदेखि संसदमा पनि बहुमतमा छौं’, एक असन्तुष्ट नेताले भने, ‘उपेन्द्रजी अहिले सबैतिर अल्पमतमा हुनुहुन्छ, अल्पमतमा भएर पनि बहुमतको माग सम्वोधन गर्न आनाकानी गरिरहनु भएको छ, यो अब धेरै दिन चल्दैन।’
उनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकले धेरै विषय टुंगो लगाउने छ।
आजदेखि काठमाडौँमा सुरु हुने कार्यकारिणी समितिको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), स्थानीय निर्वाचन, समसमायिक राजनीतिक विषयसहित पार्टीको विधान अधिवेशनसम्म अजेन्डा तय गरिएको भए पनि समावेशी र सामूहिक नेतृत्वको विषयलाई छलफलको अजेन्डामा अध्यक्ष यादवले राखेका छैनन्। जसमा यादवसँग असन्तुष्ट भट्टराई समूहले भने आपत्ति जनाउँदै आएको छ।