Logo

आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा छुटे


लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर  लाउरेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ।

मंगलबार लाउरे नामबाट परिचित आशिष रानालाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

प्रहरीले उनीसँगै अरू थप तीन जनालाई पनि पक्राउ गरेको थियो। उनीहरू तीन जनालाई भने पुर्पक्षमा पठाएको हो।

‘लाउरेले सेवन गरेको भन्ने थियो। त्यसमा उनलाई धरौटीमा छाड्न भनेको हो,’ उनले भने, ‘यसको सुनुवाइ त हुन अझै बाँकी छ।’

प्रहरीले लाउरेसहित चार जनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका-८स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो।

उनीसँगै पोखरा-२१ घर भएका ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा-८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङ पक्राउ परेका थिए।

उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ। उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो।

जाल्पारोडमा ब्राउनसुगर खरिद-बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

टोलीले उनीहरूलाई बाटोमा फेला परी चेकजाँच गर्दा ०.५१ ग्राम ब्राउनसुगर फेला परेको थियो।

त्यसबारे उनीहरूमाथि सोधपुछ गरी प्रहरी सभागृहस्थितमा रहेको सुस्मिताको कोठामा पुगेको थियो।

त्यहाँ लुकाएर राखेको थप १२.५० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ।

प्रहरीले उनीहरूबाट एउटा डिजटल तराजु, ३८ हजार ३५० रुपैयाँ, ५ वटा मोबाइल र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको छ।

लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए।

उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागालगायत गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्