Logo

प्रदेश १ नामाकरणका लागि सर्वदलीय बैठक बस्दै, चर्चामा आएका नामहरू


प्रदेश १ को नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दैछ।

सरकारले प्रदेशको नामबारे छलफल गर्न मंगलबार विराटनगरमा सर्वदलीय बैठक आह्वान गरेको हो।

सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितको बैठकमा नामबारे छलफल थाल्ने सरकारी तयारी छ।

नेकपा एकीकृत समाजवादी नेतृत्वमा रहेको सत्ता गठबन्धनका अन्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मन्चसहितको गठबन्धनले सहमतिमा एउटै नाम प्रस्ताव गर्ने सहमति गरेका छन्।

प्रदेश १ सरकारले नामकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै आएको छ। जसपाका नेता एवम् स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा सर्वदलीय समन्वयका लागि समिति पनि गठन गरेको छ।

त्यही समितिको अगुवाइमा मंगलबार सर्वदलीय बैठक आयोजना हुँदैछ। ‘सबै दलका संसदीय दलका नेताहरू, प्रदेशका पदाधिकारीहरू बैठकमा सहभागी बन्नुहुनेछ,’ मन्त्री यादवले भने, ‘दलहरूबीच छलफल प्रारम्भ भएपछि प्रदेश नामकरणको मुद्दाले गति लिनेछ।’

तत्कालीन नेकपा (नेकपा) एक्लै दुई तिहाइको अवस्थामा छँदासमेत नटुंगिएको प्रदेश नामकरणको मुद्दालाई सामान्य बहुमतमा मात्रै रहेको सत्ता गठबन्धनले पार लगाउने सम्भावना भने क्षीण छ।

यस्तो छ सम्भावना

सत्तारुढ गठबन्धनभित्र अहिलेसम्म नामबारे समान धारणा बनिनसक्नुको पछाडि दलहरुको आ-आफ्नो अडानका कारण नै हो। सत्तारुढ दलभित्र एकल पहिचान र बहुपहिचान भएका शक्ति छन्।

माओवादी, जसपा र संघीय मञ्च नेतृत्व ‘एकल पहिचानमा आधारित’ नामको पक्षमा उभिएका छन् भने कांग्रेस र एकीकृत समाजवादीको नेतृत्व बहुपहिचानको पक्षमा छ।

गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेसले चाहे जसरी बहुपहिचान सहमतिको बिन्दू हुनसक्ने नेताहरू बताउँछन्।

‘गणितीय रुपमा पनि एकल पहिचानमा आधारित नाम सम्भव देखिन्न,’ गठबन्धनका एक नेताले भने, ‘त्यसैले बहुपहिचान साझा मिलनबिन्दू हुनसक्छ।’

ती नेताका अनुसार किराँत कोसी, किराँत सगरमाथाजस्ता जातीय र भूगोल दुबै खाले पहिचान झल्किने नाममा सत्ता गठबन्धन सहमतिमा पुग्ने सम्भावना छ।

‘हामीले ठूलो आकारमा भेला भएर छलफल आयोजना मात्रै नगरेको हो,’ उनले थपे, ‘यस्ता नामहरूबारे नेतृत्व तहमा लगातार छलफल गरिरहेका छौं।’

छलफलका क्रममा विजयपुर प्रदेश र विराट प्रदेशको नाम पनि आएको जानकारी ती नेताले दिए। ‘भोलिको सर्वदलीय बैठकपछि एउटा चित्र आउँछ, अनि हामी फाइनल गर्नतिर लाग्नेछौं,’ उनले भने।

सत्ता गठबन्धनका नेता उनले यसो भने पनि प्रदेश नामको मामिलामा विपक्षी एमाले सबैभन्दा निर्णायक साबित हुनेछ।

आफूसँग दुई तिहाइको शक्ति हुँदा नामबारे केही नगरेको अपजस भोगिरहेको एमालेकै कोर्टमा अब बल पुग्ने देखिएको छ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्