Logo

गाई-गोरु काटमार पाउनुपर्ने माग, खोटाङका दुईमन्त्रीसामु


नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले गाई गोरु काटमार गर्न पाउनुपर्ने माग गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’लाई ज्ञापनपत्र बुझाएको छ । गठबन्धनमा आबद्ध खोटाङका राजनीतिक दलले मन्त्रीद्वयलाई बधाइ तथा शुभकामना आदानप्रदान गर्न जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजना गरेको कार्यक्रममा महासंघले ज्ञापनपत्र बुझाएको हो ।

मुलुकी अपराध संहिता, २०७४ को धारा २८९ आदिवासी जनजातिको परम्परागत धर्म संस्कृतिमा आघात पुग्ने खालको व्यवस्था भएकोले उक्त धारा खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको महासंघले जनाएको छ ।

‘नेपालको संविधान भाग १ को धारा ४ मा नेपाल एक स्वतन्त्र, अभिभाज्य सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतान्त्रिक गणतान्त्रात्मक राज्य हो भनी उल्लेख भएको छ ।

तर मुलुकी अपराध संहिता, २०७४ को धारा २८९ मा संविधानको प्रस्तावनासँग बाझिने गरी धर्म निरपेक्षताको भावना विपरित गाई, गोरु मार्न वा कुट्न नहुने भनी आदिवासी जनजातिको परम्परागत धर्म संस्कृतिमा आघात पुग्ने गरी मुलुकी संहितामा व्यवस्था भएकोले संविधानसँग बाझिएको हुँदा संहितामा उल्लेख भएको धारा २८९ खारेजीको लागि माग गर्दछौँ ।’ महासंघ खोटाङका अध्यक्ष फुर्बा शेर्पा र सचिव उदिम चाम्लिङ राईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।

खोटाङ जिल्लामा रहेका आदिवासी जनजातिहरूले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार गोरुको मासु खाएको अवस्थामा प्रहरी प्रशासनले धरपकड गर्ने, मुद्दा लगाउने गरिरहेको र माघ २३ गते तामाङ समुदायले मासुको रुपमा प्रयोग गर्ने गोरु काटेको भनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जयराम तामाङ, गणेश तामाङ र खगेन्द्र तामाङलाई पक्राउ गरी छेकथुन गरेको र यो काम संविधानको मूल मर्म विपरीत भएको महासंघले उल्लेख गरेको छ ।

साथै मुलुकी आचार संहिताको धारा २९१ मा परम्परादेखि नै पशु वा पक्षकिो बध गर्न चलिआएको मेला, जात्रा, हाट, महोत्सव वा स्थानमा पशु वा पंक्षी मार्न बाधा पर्ने छैन भनी उल्लेख गरिएको पनि महासंघले स्मरण गराएको छ ।

सोही धाराको स्पष्टिकरणमा सार्वजनिक स्थल भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आवतजावत गर्ने ठाउँ पर्दछ भनी उल्लेख रहेको र माघ २३ गते दर्ता गरिएको मुद्दाका आरोपीहरूले कुनै सार्वजनिक स्थलमा पशु बध नगरेकाले महासंघले उनीहरूलाई यथाशीघ्र रिहाइको माग गरेको छ ।

यस्तै आदिवासी जनजाति सम्बद्ध विभिन्न ९ वटा संघ संस्थाहरूलाई रिहाइको पहलका लागि समेत महासंघले आग्रह गरेको छ ।
माघ २३ गते गोरुको मासु काटेर बेचिरहेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, दिखुवाबाट तीन जनालाई पक्राउ गरेको थियो । चर्को विरोधपछि प्रहरीले उनीहरूलाई हिरासत बाहिर अनुसन्धान गर्ने गरी माघ २६ गते रिहा गरेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्