संसद्मा हाम्रो माग पूरा नभएसम्म अवरोध जारी राख्छौँ – नेम्वाङ
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध जारी राख्ने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरिने उनले बताए ।
“संसद्मा हामीले उठाएको माग पूरा भएको छैन । अवरोध जारी राख्छौँ,” उनले भने ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा पहिले सत्ता गठबन्धन प्रस्ट हुनुपर्ने उनको भनाइ छ ।
“प्रधानमन्त्रीले गठबन्धनबाट निर्णय गर्नुभएको छैन । हामी त प्रस्ट छौँ नि । गठबन्धन पहिले प्रस्ट हुनुपर्यो,” नेम्वाङले भने ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।
नेम्वाङले आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि आफूहरू सहभागी नहुने जानकारी दिए ।
“कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानुको अर्थ नै छैन नि ! संसद्मा कुनै परिवर्तन नै भएको छैन ।
हामीलाई बोलाएर के अर्थ ?,” उनले भने । कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान बस्दै छ ।
उक्त बैठकले संसद्को कार्यसूची तय गर्नेछ । संसद् अवरोध खुलाउने विषयमा पनि छलफल हुनेछ ।