संसदबाट एमसीसी पास–फेल जे भए पनि स्वीकार गर्छौँ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन् ।
बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ सार्वजनिक गर्दै उनले पार्टी र संसदीय दलले सर्वसम्मत निर्णय गरेकाले एमसीसी संसद्मा टेबल गर्ने र नतिजा स्वीकार गर्ने बताए ।
“हामी एमसीसी परियोजना संसद्मा टेबल गर्न चाहन्छौँ, पास–फेल जे हुन्छ स्वीकार्छौँ,” उनले भने, “पास हुन्छ कि फेल हुन्छ थाहा छैन ।
हामीले निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,” उनले भने ।
सो क्रममा उनले कम्युनिस्ट पार्टीहरूले कांग्रेसका बारेमा गलत प्रचार गरिरहेको भन्दै त्यसलाई चिर्नुपर्ने बताए ।
साथै, उनले पार्टीको प्रचार कम भएको भन्दै थप प्रचार गर्नुपर्नेमा जोड दिए ।“पार्टीको प्रचार पुगेको छैन । भएका कामको चर्चा भएको छैन,” उनले भने ।