आयोजना प्रभावितलाई ग्रीन भेन्चर्सका आइपिओ खुला
ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ०को बिक्री खुल्ला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख)को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
सार्वजनिक आह्वान पत्रानुसार ओखलढुङ्गा र रामेछापका आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयले आजदेखि छिटोमा यही फागुन १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी चैत १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीले हाल ओखलढुङ्गाको खिजिदेम्बाको वडा नं १ र ३ तथा रामेछापको उमाकुण्डको वडा नं ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनूमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ ।
स्थानियले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गाको खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनिको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थानुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिममा रहेको बुझिन्छ । रासस