माछा मार्ने जालोबाट सामसुङले नयाँ फोन बनाउदै
सामसुङ कम्पनीले हालै मात्र नयाँ ग्यालेक्सी स्मार्टफोन सार्वजानिक गरेको छ जसमा क्यामरा लगायत विभिन्नि फिचरहरुमा ठूलो सुधार ल्याइएको दाबी छ ।
तर यससँगै कम्पनीले अहिले लन्च भएका फोनका विभिन्न हिस्सा माछा मार्नेजालो, प्रयोग भइसकेका बोतल, फालिएका सीडी लगायत विभिन्न रिसाइकल गरिएका वस्तुबाट निर्माण गरिएको खुलासा पनि गरेको छ ।
कम्पनीले ‘ग्यालेक्सी फर द प्लानेट’ नामक नयाँ पाँच वर्षे योजना अन्र्तगत यस्ता सामग्री प्रयोगमा ल्याएको बताएको छ । यस योजनामा फोनको प्याकेजिङ या निर्माण प्रक्रियाबाट प्लास्टिकलाई पूर्ण रुपमा हटाउने भनिएको छ भने अन्य पाटपूर्जालाई पनि पछि ल्यान्डफिलमा फाल्नबाट जोगाउन यस्तो सुरुवात गरिएको बताएको छ ।
विज्ञहरुले यो नयाँ वातावणमैत्री उपायको हार्दिक स्वागत गरिरहेका छन् । यसमा नाइलनबाट बनेका माछा मार्ने जालोलाई ‘पोलिमाइड रेसिन पेलेट’ मा परिणत गरि फोनको भोल्युम र पावर बटनलाई यभावत् राख्ने ‘ब्राकेट्स’ को उत्पादनमा प्रयोग गरिएको छ ।
त्यस्तै फालिएका र प्रयोग भइसकेका बोतल अनि सीडीका केसहरुलाई पनि मोबाइलका विभिन्न अंशमा प्रयोग गरिएको कम्पनीले बताएको छ । तर अझैपनि वातावरणमैत्री नीति अन्र्तगत धेरै कुरा गर्न बाँकी रहेको विश्लेषक थोमस हसनले बताए ।
उनले भने, “स्मार्टफोनका हार्डवेयरलाई नियमित नविकरण गरिरहनु पृथ्वी र वातावरणका लागि कति हानिकारक छ भन्ने आजका अधिकांश प्रयोगकर्ताहरुलाई थाहै छैन । त्यसैले सबैले यसको आभास गरे भने दिर्गकालीन पक्षकै आधारमा उच्चतम स्मार्टफोन ब्रान्ड छुट्याउन सक्नेछन् । ”
यसरी सामसुङ जस्तो ठूलो ब्रान्डले आफ्नो उत्पादनको दिगोपनमा सुधार ल्याउन यत्तिको प्रयास गर्नु वास्तवमै प्रेरित गर्ने कुरा भएको अर्का विज्ञ बेन वुडले बताए ।
तरपनि यसमा फोन निर्माताहरुले गर्न सक्ने सबैभन्दा उत्तम कुरा भनेको डिभाइसलाई धेरै लामो समयसम्म टिक्ने बनाउनु रहेको पनि उनले थप बताए । उनले भनेका छन्, “यसमा रिसाइकल गरिएका सामग्री प्रयोग गर्नु भनेको ‘पजल’ को केबल एउटा टुक्रा जस्तो मात्र हो । ”
तर अझैपनि प्राविधिक बजारमा एप्पलकै बिगबिगी रहेको हुँदा सामसुङका लागि यो सुरुवात प्रभावकारी साबित हुन सक्ने बताइएको छ ।
जस्तै अहिले हुवावे कम्पनी संघर्षरत् अवस्थामा छ, शाओमीको ब्रान्डले युरोपमा विश्वसनीयता पाइसकेको छैन र एप्पलले आगामी २०२२ सम्म कुनै नयाँ फोन लन्च नगर्ने हुँदा यही समयलाई सामसुङले बजारमा अग्रता हािसल गर्न सदुपयोग गर्न सक्ने हसनले बताए ।
सामसुङका नयाँ मोडलहरु आगामी मार्च ११ देखि सर्वत्र विक्रीका लागि उपलब्ध हुने बताइएको छ । एजेन्सी