दोहन भएको सम्पत्ति फिर्ता ल्याउन नसके मन्त्री पदमा बस्दिनँ – आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयअन्तर्गतका अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।
शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेन्ड पनि पदमा नबस्ने बताएका हुन् ।
राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए । विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भएपनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए ।
“नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो । मैले भनेको छु साथीहरूलाई पब्लिकको कोर्टमा यो बल गएको छ ।
यदि यो प्रोर्पटी हामीले रिटर्न ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन म । मलाई त्यो नैतिकता पनि छैन ।
म बस्न पनि सक्दैनँ । राज्यको सम्पत्ति दोहन भएको छ त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो ।
हामी सबै मन्त्रालय, सरोकारवाला, पशुपति क्षेत्र विकास कोष हामी सबैको साझा समस्या हो यो,” उनले भने । उनले आफू पदमा बसुन्जेल इमान्दारपूर्वक देशका लागि काम गर्ने पनि बताए ।
मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए ।
नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए ।
आफूले राम्रो काम गरिरहेपनि केही मिडियाहरू भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रहसमेत गरे ।
मन्त्री आलेले पुँजिगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।