डोनाल्ड लूद्वारा एमसीसी अनुमोदन नगरे नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्न सक्ने चेतावनी
अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता अघि बढाउने विषयमा अमेरिकाले ताकेता गरेको छ।
उसले छिटो निर्णयमा पुग्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले बिहीबार देउवा, ओली र दाहाललाई फोन गरी अलमल नगर्न आग्रह गरेका हुन् ।
एमसीसी संसद्बाट अनुमोदन नगरे नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्न सक्ने चेतावनी सहायकमन्त्री लूले दिएका छन् ।
आफूले दिएको अनुदान सहायता परियोजना फिर्ता भए चीनले हस्तक्षेप गरेको अर्थमा बुझ्ने उनको भनाइ थियो।
‘उहाँले एमसीसी पारित गरेर जानुपर्छ। यसलाई कार्यान्वयनमा लिएर जानुहोस्, सहयोग गर्नुहोस् भन्नुभयो’, एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भने।
त्यसो नगर्दा अप्ठ्यारो हुने बताएको नेता डा. भट्टराईले सुनाए। ‘नेपाल र अमेरिकाबीच पुरानो सम्बन्ध हो।
तपाईंहरू यसरी सहमति भइसकेको विषयमा पछाडि हट्नु राम्रो हुँदैन। यसले द्विपक्षीय सम्बन्धमै असर गर्न सक्छ भन्ने हिसाबले कुरा गर्नुभयो’, डा. भट्टराईले भने।
एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा आफ्नो कुरा राख्दै आएको डा. भट्टराईले उल्लेख गरे।
ओलीले आफू जिम्मेवारीमा नरहेको र सरकारमा रहेकाहरू एकमतका साथ आउँदा पारित गर्न सक्ने प्रष्ट पारेको उनले सुनाए।
‘संसद्मा ल्याएर पारित गर्न उनीहरू (सत्तारुढ गठबन्धन)लाई कुनै अप्ठ्यारो छैन। सरकारमा रहेकाहरूको फरकफरक मत छ।
उनीहरूको एउटै मत रहोस् अथवा कसरी आउँछन् ? पर्खिरहेका छौं’, उनले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘सरकारको तर्फबाट प्रस्ताव ल्याएपछि हामीले आफ्नो धारणा के राख्ने, त्यो विषयमा प्रष्ट पाछौं।’
द्विपक्षीय सम्बन्धमा एउटै विषयले असर पार्छ भन्ने हिसाबले भने प्रस्तुत नहुन ओलीले आग्रह गरेको उनले सुनाए।
‘एउटै विषयले सम्बन्धमा असर गर्छ भन्ने हिसाबले तपाईंहरू पनि प्रस्तुत हुनुहुँदैन ।
हामी पनि हुँदैनौं। हाम्रो सम्बन्ध धेरै पुरानो हो। बहुआयामिक सम्बन्ध छ’, ओलीले भनेका थिए, ‘त्यस्तो सम्बन्धलाई एउटा ईस्युमा फरक-फरक ठाउँमा उभियो भनेर त्यसकै आधारमा सम्बन्धमा तलमाथि हुन्छ भन्ने कुरा हामीले गर्नुहुँदैन।’ ।
लूले प्रधानमन्त्री देउवालाई छिटो पहल कदमी लिन आग्रह गरेको जनाइएको छ।