नेपाल वायुसेवा निगममा कार्यरत ‘क्याबिन क्रु’ (परिचारिका र परिचारक)ले पाइलट विजय लामाको राजीनामा माग गरेका छन्।

नियमसंगत काम नगरेको आरोप लगाउँदै उनीहरुले पाइलट लामाको राजीनामा माग गरेका हुन् ।

नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापन बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न माग गरेका हुन् ।

पाइलट लामा वाइडबडी विमान उडाउने क्याप्टेनबाहेक ‘क्याबिन क्रु’ लाई खटनपटन गराउने अपरेसन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक पनि हुन् ।

लामाको काम गर्ने शैली विधिसंगत नभएको नियम पालना नगरी आफूखुसी निर्णयहरु गर्दा हामी विमान परिचारिका र परिचारकको मनोबलमा असर पर्‍यो,’ करिब एक दशकपछि यसै साता पुनर्जीवीत गराइएको संघको पहिलो बैठकले निर्णयमा लेखेको छ ।