सुर्खेतमा माके (क्रान्तिकारी) को भेला सम्पन्न, दर्जनौंले गरे पार्टी प्रवेश
सुर्खेतको विरेन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) ले सयौं नेता, कार्यकर्ता तथा उत्पीडित वर्ग, जनसमूदायको बाक्लो सहभागितामा भव्यताका साथ जिल्ला भेला सम्पन्न गरेको छ । माओवादी केन्द्र (क्रान्तिकारी) को कर्णाली प्रदेश भेला आयोजक कमिटिद्धारा आयोजित एक क्रार्यक्रम बिच उक्त भेला सम्पन्न गरिएको हो ।
माओवादी आन्दोलनमा विभिन्न ढंगले जोडिदैं आएका सुर्खेतका विभिन्न स्थानका मानिसहरुको भेलामा बाक्लो सहभागिता रहेको थियो । माओवादी केन्द्र (क्रान्तिकारी) कर्णाली प्रदेश समितिद्धारा आज बिहान विरेन्द्रनगरमा आयोजित ‘जनअन्तरक्रिया, पार्टी प्रवेश, संगठन विस्तार तथा पार्टी भेला’ को कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समेत रहेका, युवा, सामाजिक अगुवा मनराज कठायतको अध्यक्षता तथा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) को प्रमुख आतिथ्यता रहेको थियो ।
माओवादी केन्द्र (क्रान्तिकारी) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य जगत बमले सञ्चालन गरेको उक्त कार्यक्रममा, अखिल नेपाल युवा संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य मदन महतरा, जगत काफ्ले, जनप्रेस सेन्टर नेपालका नेता बिवश सुवेदी लगाएतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा लामो समयदेखि माओवादी आन्दोलनमा भूमिका खेल्दै पछिल्लो समय माके (क्रान्तिकारी) लाई समर्थन गर्दै आएका स्थानीय नेताहरु बल बहादुर कामी, खडक बहादुर लामिछाने, जय बहादुर बिक, दल बहादुर परियार, रंगा बिक, प्रेम कसेरा, लछिरामा बुढा, ज्वालादेवी थापा लगाएतको समेत आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमको पहिलो चरणमा जनतासँग स्थानीय समस्या र राज्यव्यवस्थाको राष्ट्रघाती, जनघाती कदम विरुद्ध संघर्षको योजनामाथि अन्तरक्रिया, छलफल भएको थियो । त्यसक्रममा युवा अगुवा अमर बहादुर नेपालीले माओवादीहरु पटक पटक सरकारमा गएपनि अहिलेसम्म आफुहरुले बसोबास गरिरहेको जमिनको लालपुर्जा पाउँन नसकेको भन्दै स्थानीय निर्वाचनमा भोटमाग्न आउनेलाई वहिष्कार गर्नुपर्ने धारणा राखें । उनले जनताहरु अहिलेपनि बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको समस्या भोग्न बाध्य रहेको भन्दै सरकारको आलोचना गरेका थिए । त्यस्तै स्थानीय महिला नेतृ मदमकला सुनारले गणतन्त्र आएको भनिएपनि सामान्य नागरिकले अहिलेपनि बाँच्न मुश्किल रहेको भन्दै त्यो तस्कर, दलालहरुको लागि सहज भएको बताइन ।
उनले विकास निर्माणमा खर्चगर्नुपर्ने रकम अहिले स्थानीय सरकारले चुनावि खर्चमा, टिकट ल्याउने र कार्यकर्ता पोस्ने खर्चमा सकेको आरोप समेत लगाइन । उनले आफुहरु अब भोटरमात्र नहुने भन्दै माओवादी केन्द्र (क्रान्तिकारी) को योजना अनुसार चुनाव वहिष्कार वा आफ्नो नेता आफैले चुन्ने र जिताउने अभियानमा लाग्ने बताइन । त्यस्तै अर्कि महिला नेतृ भविसरा नेपालीले पनि अझै उत्पीडित वर्ग, जनसमुदायहरु अधिकार बिहिन हुनुपरेको भन्दै अहिलेको गणतन्त्र दलालहरुको मुठिमा रहेको बताइन । उनले आफ्नो वस्तीमा अहिलेसम्म कसैलेपनि लालपुर्जा नपाएको, खानेपानी, शिक्षा, स्वासथ्यको समस्या भोगनुपरेको भन्दै आक्रोश पोखिन ।
उनले निर्वाचनमा आफुहरु फेरी प्रयोगको साधन बन्न नहुने धारणा राखिन । त्यस्तै उक्त कार्यक्रममा लामो समयदेखि माओवादी पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका, पुराना स्थानीय नेता बल बहादुर कामीले अहिले माओवादी पार्टी प्रति समेत जनताहरु आक्रोशित रहेको बतए । उनले आफुहरुलाई सरकारी माओवादी नामका पार्टीहरुको राष्ट्रघाती, जनघाती गतिविधिमा संलग्नता देख्दा आफुहरुलाई माओवादी भन्न समेत लाजमर्दो भएको बताए ।
उनले वडा अध्यक्षदेखि प्रदेश र संघ सरकार सबै भ्रष्टाचारमा मस्त रहेकाले जनताले न्याय, अधिकार पाउन नसकेको भन्दै वर्तमान वयवस्थाको विकल्पमा अघि बढ्न आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा स्थानीय युवा अगुवा खड्क बहादुर बुढाले संसदवादीहरुले ल्याउँन खोजेको एमसीसी नामको राष्ट्रघाती परियोजना कुनैपनि हालतमा खारेज हुनुपर्ने भन्दै त्यसका विरुद्ध माओवादी केन्द्र (क्रान्तिकारी) को झण्डामा गोलबन्द हुँदै आफुहरु आन्दोलनमा उत्रिन तयार हुने विश्वास व्यक्त गरेका थिए । उनले अहिले जनताको समस्या र देशको समस्यामा साथ दिने पार्टीहरु आफुहरुले नदेखेको भन्दै माओवादी केन्द्र (क्रान्तिकारी) ले देश र जनताप्रति प्रतिवद्ध भएर आफ्ना गतिविधिहरु अगाडि बढाउनुपर्ने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा बोल्ने अधिकांशले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पुरा हुन नसकेका मुद्दाहरुलाई उठाउँदै, गाउँगाउँबाट उतपििडत वर्ग जनसमुदायबिच यस्ता अन्तरक्रिया, संगठन विस्तार र भेला सम्मेलनका कार्यक्रम चलाउँदै माओवादी केन्द्र (क्रान्तिकारी) लाई जनताको वास्तविक हक, अधिकार प्राप्तीको आन्दोलनको कमाण्ड गर्ने पार्टीका रुपमा विकास गर्नुपर्ने धारणा सहित आफुहरु पार्टीको योजना, कार्यदिशा, विधान अनुसार जोडिन तयार रहेकोमा जोड दिएका थिए ।
त्यसैगरी कार्यक्रमको दोश्रो चरणमा लामो समयदेखि माओवादी पार्टीमा रहेर विभिन्न जिम्मेवार निर्वाह गर्दै आएका, नेकपा (माओवादी केन्द्र) का, त्यस्तै नेकपा (एमाले) का र नेपाली कांग्रेसमा रहेका दर्जनौ स्थानीय नेता, कार्यकर्ताहरुले माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गरेका थिए । विगतमा आफुहरु संलग्न रहेको पार्टी र नेताहरु देश र जनताप्रति इमानदार नदेखिएको, जनतालाई भ्रमको राजनीति गरिरहेको भन्दै उनीहरुले सामूहिक रुपमा ति संसदीय पार्टीहरु परित्याग गरेका हुन । त्यसरी विभिन्न पार्टीहरु परित्याग गरि माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गर्नेहरुमा दल बहादुर परियार, प्रेमबहादुर कसेरा, बलबहादुर बिक, कर्णबहादुर तारमी, दिपक नेपाली, पदमकला सुनार, जवालादेवी थापा, सारता खत्री, रंगा बिक, भाविसरा दमाई, सिता नेपाली, भद्रकला नेपाली, धिरज बहादुर थापा, लक्ष्मी बिक, रविन्द्र परियार, अजुन नेपाली लगाएत रहेका छन् ।
त्यस्तै माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गर्नेमा अन्य स्थानीय नेता, कार्यकर्ताहरुमा सम्झना बुढा, नैशोभा परियार, पार्वति बिक, दत्तबहादुर नेपाली, धन बहादुर सुनार, प्रविता खड्का, गौरी सुनार, भुपु नेपाली, शान्ति बिक, झुपु नेपाली, राज बहादुर बिक लगाएत करिब ७० जना भन्दा बढि रहेका छन् । पार्टी प्रवेशीहरुलाई माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले बधाई सहित स्वागत गरेका थिए । उहाँहरु सबैंलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिइने महासचिव लोकेशले बताएका थिए । त्यसैगरी कार्यक्रमको तेश्रो तथा अन्तिम चरणमा माओवादी केन्द्र (क्रान्तिकारी) को सुर्खेत जिल्ला भेला तथा संगठन निर्माण गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुले सर्वसम्मत रुपमा जनयुद्धकालदेखि माओवादी आन्दोलनमा जोडिएका, उत्पीडित समूदायका अगुवा, पछिल्लो समय प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहेका स्थानीय नेता बल बहादुर कामीलाई पार्टीको सुर्खेत जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको छ । बलबहादुरको नेतृत्वमा माओवादी केन्द्र (क्रान्तिकारी) सुर्खेतको ५१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । निर्वाचित कमिटिमा पदमकला सुनार, जय बहादुर बिक, रंगा बिक, दत्त नेपाली, ज्वालादेवी, दल बहादुर परियार, प्रेम कसेरा, खडक बहादुर लामिछाने, रविन्द्र परियार लगाएत रहेका छन् ।
त्यस्तै भेलाबाट माओवादी केन्द्र (क्रान्तिकारी) निकटको दलित मुक्ति मोर्चाको सुर्खेत संयोजकमा जय बहादुर बिक, केन्द्रीय सदस्यमा दल बहादुर परियार, जनप्रेस सेन्टर नेपालको सुर्खेत जिल्ला संयोजकमा बिवश सुवेदी, अखिल क्रान्तिकारी सुर्खेतको संयोजकमा जगत बमलाई जिम्मेवारी दिएको छ । पार्टी महासचिव लोकेशले निर्वाचित सबै कमिटि, नेताहरुलाई बधाई दिदै सधैं वर्ग हितमा, देश र जनताको पक्षमा उभिएर पार्टीको योजना अनुसार गतिविधि गर्न निर्देशन दिएका थिए ।
महासचिव लोकेशले आफ्नो पार्टीले निर्वाचनलाई जनतामा भ्रमको खेतीका रुपमा लिएको भन्दै निर्वाचनको विधिबाट जनअधिकार प्राप्त गर्न नसकिने ठहर गरेको प्रष्ट पारे । निर्वाचनलाई आफुहरुले वहिष्कार गर्नेबारे सामान्य छलफल गरेको भन्दै त्यसबारे ठोस निर्णय पार्टीको औपचारिक बैठकबाट गरिने बताएका थिए । उनले संसदीय दलालहरुले यो वा त्यो बाहनामा देश र जनताको हित विरोधी गतिविधि गर्दै विदेशी प्रभुकोे दासतामा कुर्सि सम्हाल्ने परम्पराको निरन्तरता कायम गरेको भन्दै त्यसैलाई भत्काउन संसदीय दलाल व्यवस्था विरुद्धको संघर्ष अनिवार्य हुने बताए ।
उनले अहिले संसदीय दलाल राजनीतिक दलहरुले राष्ट्रघाती हर्कतको निरन्तरतामा अमेरिकी युद्ध रणनीति अन्तरर्गतको एमसीसी लागुगर्ने कुप्रयास गरिरहेको बताए । उनले १३० मिलियन डलरमा नेपालको राष्ट्रिय स्वाधिनताको लिलामी गर्ने दुष्साहस गरिरहेको भन्दै कुनैपनि हालतमा एमसीसी खारेज गर्नुपर्ने धारणा राखेका थिए । उनले पार्टीले एमसीसी विरुद्ध वक्तव्य द्धारा र संघर्षद्धारा राज्यलाई सचेत बनाएको भन्दै त्यसलाई लागुगर्न खेजिएमा कडा आन्दोलन गरिने बताएका थिए ।