मार्क्सवाद र वर्गसंघर्ष : राजन तिमल्सिना
वर्तमान नेपाली समाजमा यतिबेला अभूतपूर्व राजनीतिक सङ्कटको गहिरिएको छ । त्यो सङ्कट दलाल पुँजीवादी तथा लाल पुँजीवादी संसदीय व्यवस्थाको विश्वव्यापी असफलतासंग अभिन्न रुपले जोडिएको छ । विश्वव्यापी रुपमा असफल र संकटग्रस्त संसदीय पुँजीवादी प्रजातन्त्र आफ्नो प्राण धान्न संशोधनवादी गद्दारहरुलाई आफ्नो नयाँ खेतालाको रुपमा नियुक्ति गरी संकटमोचनका लागि कोशिस गरिरको छ । संशोधनवादीहरु कम्युनिस्टको नाम र झण्डा बोकेर कम्युनिस्ट आन्दोलनलाई ध्वंस गर्न पुँजीवादीसंग काधमा काध मिलाएर संसदीय व्यवस्थाको बचाउमा लागेका छन । संसदीय व्यवस्थाभित्रैबाट वर्गसंघर्षको कार्यभार पूरा हुने र आमूल रुपान्तरण गर्न सकिने मार्क्सवाद विरोधी तर्क अघि सारी श्रमजीवी जनताको ठूलो पंक्तिलाई भ्रमित पारिरहेका छन ।
मार्क्सवाद दुनियाँलाई बुझ्ने र बदल्ने कार्यकारी सिद्धान्त हो । मार्क्सवाद कुनै जड बस्तु वा विचार नभएर यो गतिशील र परिवर्तनशील विज्ञान हो । यसले युग सापेक्ष परिवर्तन र क्रान्तिको माग गर्दछ । मार्क्सवादको क्रान्तिकारी सिद्धान्तलाई विकसित र समृद्ध गर्ने क्रममा बुर्जुवा विचार, संशोधनवादी तथा अवसरवादी प्रवृत्तिविरुद्ध क्रान्तिकारीहरुले भिषण संघर्ष गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादको रुपमा मार्क्सवादी प्रस्तावनाहरूलाई विकसित र समृद्ध तुल्याउने काममा ठूलो योगदान रहन गयो । मार्क्सवादी सिद्धान्त सर्वशक्ति सम्पन्न छ, सत्य छ, साथै वैज्ञानिक र क्रान्तिकारी पनि छ । मार्क्सवादी दर्शनले दुःखी, गरिव, उत्पीडित श्रमजीवी जनताको हक अधिकारको बारेमा पहिलोपटक नयाँ वैज्ञानिक प्रस्थान अविस्कार गर्यो । यस अघिका शोषणमुलक समाज र राज्यको चरित्रको पर्दाफास गर्दै नयाँ समाज ब्यवस्थाको वैज्ञानिक रूपरेखा समेत पेस गर्यो ।
ऐतिहासिकरूपमै के कुरा प्रमाणित भैसकेको छ भने मार्क्सवाद-लेनिनवाद-माओवाद संसारलाई बदल्ने महान क्रान्तिकारी विज्ञान हो । यस कुरालाई जनताको अन्तर्राष्ट्रिय मुक्ति आन्दोलनको क्रम, विश्वमा समाजवादी ब्यवस्थाको स्थापना, पूँजीवादी ब्यवस्थामा आएको विश्वब्यापी संकट, विश्वमा फैलिएको उपनिवेशवादको पतन, नयाँ विश्वब्यवस्थाकोलागि भएका अनेकौं संघर्ष आदिबाट पुष्टि हुन्छ । विश्वमा पूँजीवादी ब्यवस्थाले लामो समयदेखि जरा गाड्दै आएपनि समाजवादी ब्यवस्थाले छोटै समयमा पूँजीवादको विकल्प पेश गर्न सफल भयो । यद्यपि आज विश्व समाजवादको गतिमा केही व्यवधान आएतापनि त्यो केवल क्षणिक र अस्थायी घटना मात्रै हो । मार्क्सवादको अन्तर्राष्ट्रिय शिक्षाले विश्वभरका गरिखाने वर्गका जनताको मुक्ति आन्दोलनका ऐतिहासिक अनुभवलाई प्रतिविम्बित गरिसकेको छ ।
मार्क्सवादको प्रादुर्भावसंगै विश्वभरीका जनता कम्युनिस्ट पार्टीको रक्तरञ्जित झण्डामुनि गोलबन्द भएर सामन्तवाद, साम्राज्यवाद, नोकरशाही पूँजीवाद र घरेलु प्रतिक्रियावादीसंग जुझारु संघर्षको नेतृत्व गरे । श्रमजीवी जनताको उज्यालो भविष्य निर्माणमा मार्क्सवादले शान्ति, भातृत्व, मानवताको पक्षमा विश्वब्यापी जनजागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो । मार्क्सवाद यस्तो अजय हतियार बन्यो विश्व भरिका क्रूर शासकहरुले आफ्नो लूटको स्वर्ग बचाउन श्रमजीवी जनतामाथि अनेकन दमनचक्र र भिषण हमला गर्न राष्ट्रब्यापी र विश्वब्यापी अभियान संचालन गरे । जस्तोसुकै क्रूर दमनकोबीचबाट पनि मार्क्सवाद झनै स्पातिलो र दरिलो बन्दै शासकहरूको चिहान खन्ने अस्त्रको रूपमा विकसित भयो ।
मार्क्सवादको विश्वव्यापी आयमले सामन्तवाद, पूँजीवाद, साम्राज्यवाद र घरेलु प्रतिक्रियावादीको निद हराम बनाउदै श्रमजीवी जनताको श्रेष्ठतम विचार, कार्यक्रम, कार्यदीशा र राजनीतिक प्रणालीको विकास गर्न सफल बन्यो । मार्क्सवाद नै यस्तो अजय हतियार बन्यो जसलाई ध्वंस गर्न विश्वभरिका शासक र साम्राज्यवादले ठूलो लगानी गर्यो ।
विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनलाई ध्वंस गर्न, विघटित गर्न र विचलित पार्न पूँजीवादी र साम्राज्यवादीले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी एजेन्टहरु घुसपैठ गराउदै पूँजीवादमा फर्काउन ठूलो लगानी गर्दै आएको छन । साम्राज्यवादको हरियो घाँसमा लोभिएर केही संशोधनवादीले विश्वका कयौं देशमा आफ्नो वर्गघाती हर्कत मार्फत क्रान्तिकारी जनतामाथि दमन र नरसंहार गर्दै आएकाछन । नेपाल पनि त्यस मामिलामा अछुतो रहन सकेको छैन । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भन्दा अघिदेखि नै मार्क्सवादको प्रभाव रहेको थियोे । नेपालमा कम्युनिस्ट पार्टी स्थापनासंगसंगै क्रान्तिकारी र संशोधनवादी धार देखा पर्यो । मनमोहन, केशरजंग लगाएतले शुरुआतबाटै संशोधनवादी नीति लिएकाले नेपाली कम्युनिस्ट आन्दोलन लामो समयसम्म संशोधनवादी दलदलमा फस्यो ।
संशोधनवादीले मार्क्सवादी दर्शनमा कयौंपटक विचलन ल्याउदै थोत्रो, तुच्छ र नक्कली कम्युनिस्टको दानवीय चरित्र प्रदर्शन गरेका छन । उनीहरूले मार्क्सवादी विचारधारालाई एकअर्काबाट अलगथलग पारेर आफ्नो हित अनुकुल परिभाषित गर्दै आएकोछन । मालेमाका वैज्ञानिक प्रस्थानहरु लत्याउदै आएका संशोधनवादीहरूले मार्क्सवाद-लेनिनवाद-माओवादको सुगा रटान गर्न पनि छाडेका छैनन् । छद्मभेषी कम्युनिस्ट बनेर आन्दोलनलाई तहसनहस बनाउनु र पूँजीवादी तथा साम्राज्यवादीलाई रिझाउनु संशोधनवादको मूल विशेषता हो । कम्युनिस्ट आन्दोलनमा घुसपैठ भएका संशोधनवादी, अवसरवादी, दक्षिणपन्थीलाई, चिन्न र चिर्नका लागि मालेमाको गहन अध्ययन र आत्मसतिकरणले नै नयाँ मार्गदर्शन गर्न सक्नेछ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहेको अकर्मण्यता र आत्मसुरक्षावादी रुझानले पूँजीवादकै सेवा गरिरहेको छ । क्रान्तिकारी मार्क्सवादी बाटोलाई दह्रोसंग पक्डन र मार्क्सवादको रक्षा, विकास र प्रयोगमा पारंगत बन्न विचारधारात्मक, संगठनात्मक, नीतिगत र कार्यदीशालाई थप समृद्ध बनाउन आवश्यक छ । नेपाली कम्युनिस्ट आन्दोलनले सहि वर्गविश्लेषण र सहि कार्यदिशा निर्माण गर्न नसक्दा क्रान्तिले सहि गन्तव्य निर्माण गर्न सकेको छैन । क्रान्तिकारी पार्टीले सर्वप्रथम संशोधनवादी फोहोर सफा गर्ने महाअभियानलाई पार्टीको कार्यसूची बनाउनुपर्छ र क्रान्तिकारीबीचको एकता र ध्रुवीकरणद्वारा क्रान्तिको नेतृत्व गर्ने सर्वहारा फौज निर्माण गर्ने उच्च सर्वहारा दृष्टिकोण स्थापित गर्नुपर्छ । मालेमाका सार्वभौम मान्यताका आधारमा नेपाली विशिष्टताको मौलिक रणनीति र कार्यदिशाको विकास गर्दै नेपाली क्रान्तिका बाकी कार्यभार पूरा गर्ने लक्ष्यमा दृढ हुनैपर्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सीमा, कमजोरी र असफलताको वस्तुनिष्ट समीक्षा गर्दै चौथो कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माणको पहल अगाडि बढाउनु पर्दछ । भारतवेष्ठित देशहरुमा हुने क्रान्तिकाले व्यहोर्नुपरेको असफलता र हिन्दचीन क्षेत्रमा भएको क्रान्तिको समीक्षा गर्दै नेपाली क्रान्तिको नयाँ कार्यदिशा विकास गरि एउटै क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माणको पहलकदमी लिन ढिला भैसकेको छ । त्यसको तयारीमा जुटौ ।