Logo

प्रधानमन्त्रीले सहमतिबिना एमसीसी अगाडि बढाए गठबन्धन समाप्त हुन्छ – देव गुरुङ


नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले वैशाख ३० गते निर्वाचन गर्दा पनि कानुनी जटिलता हुन सक्ने बताएका हुन् ।

उनले सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद् अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे ।

ऐन र संविधान बाझिएको अवस्थामा मूल कानुन भएका हिसाबले संविधानको व्यवस्थाअनुरूप नै निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको भन्दै उनले सो मुद्दाहरू यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताए ।

यद्यपि, स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उनले स्पष्ट पारे ।

उनले अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) यथास्थितिमा अनुमोदन नहुने पनि स्पष्ट पारे ।

सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

संशोधन नभएसम्म संसद्मा टेबुल नहुने उनको भनाइ छ । एमसीसीका विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने उनले उल्लेख गरे ।

प्रधानमन्त्रीले गठबन्धनको सहमतिबिना एमसीसी परियोजना अगाडि बढाए गठबन्धन स्वतः समाप्त हुने उनले उल्लेख गरे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्