कम्युनिस्टविरुद्ध बाबुराम भट्टराईको कटाक्ष – मैले अजिंगरको दाह्रा रोपेर भुसुना फलाएछु !
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीका सन्दर्भमा नेपालका कम्युनिस्ट पार्टी खासगरी नेकपा माओवादी केन्द्र लक्षित आलोचना जारी राखेका छन् ।
हरेक रातजसो उनले एमसीसीका विषयमा सत्ता साझेदार माओवादी केन्द्रको भूमिकाप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरिरहेका छन्।
सोमबार राति पनि सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरूलाई लक्ष्य गरेर कडा शब्दमा कटाक्ष गरेका छन् ।
उनले बीआईपीपीएदेखि एमसीसीसम्म कम्युनिस्ट नेताहरूले ‘गैरजिम्मेवार र ‘हास्यास्पद हर्कत’ गरेको आरोप लगाएका छन्। र, यस क्रममा उनले मार्क्सको भनाइसमेत उधृत गरेका छन् ।
‘कम्युनिस्ट नामधारी आँखामा पट्टी बाँधेका कणहरूको बीआईपीपीएदेखि एमसीसीसम्मको गैरजिम्मेवार र हास्यास्पद हर्कतलाई हेर्दा बूढा मार्क्सले आफ्ना चेला दाबी गर्ने नालायकहरूलाई दुत्कार्दै भनेको यो भनाइ याद आयो’, डा. भट्टराईले लेखेका छन्, ‘I have sown dragon’s teeth and harvested fleas! (मैले अजिंगरको दाह्रा रोपेर भुसुना फलाएछु!)’
एमसीसीको कडा विरोधीका रूपमा प्रस्तुत भइरहेको सत्तारुढ नेकपा माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी संसदबाट अनुमोदन गर्ने वाचासहित संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएपछि यतिबेला नेपालको राजनीतिमा तरंग छाएको छ ।
खासगरी माओवादी केन्द्र तथा यसका अध्यक्ष प्रचण्डविरुद्ध आलोचनाको ओइरो लागेको छ ।