तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ता गर्छौ – कमल थापा
राप्रपाका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् ।
उनले त्यसतर्फ संकेत गर्दै तीनवटा माग पूरा गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन् ।
“स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नु अघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,” थापाले आफू निकटका नेताहरुसँगको छलफलमा भने ।
उनले समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए । उनले आफू निकटका नेताहरुको भेला काठमाडौंमा बोलाएका छन् ।
थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । त्यसमा दरबारको हस्तक्षेप भएको भन्दै उनले छानबिनको माग गरेका छन् ।
उक्त माग पूरा नभए नयाँ दल दर्ता गर्ने उनको चेतावनी थियो । उनले चुनावपछि निरीह र लाचार भएर बस्नुको विकल्प नहुने भन्दै त्यसपहिले नै समस्याको समाधान गर्नुपर्ने बताए ।