गठबन्धन सरकारले आफ्नो अनुकूलताका लागी संविधानको मर्ममाथि प्रहार गर्यो – प्रदीप ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राज्यका तीनवटै निकायहरू असफलतातर्फ उन्मुख भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले सरकारको क्रियाकलापले राज्यका तीनवटै निकायहरू असफलतातर्फ उन्मुख भएको र लोकतन्त्र नै संकटमा पुगेको बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने भन्दै गठबन्धन सरकारले आफ्नो अनुकूलताका लागी संविधानको मर्ममाथि प्रहार गरेको औँल्याए ।
उनले वर्तमान सरकारले एमसीसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाउँदै एमसीसीका प्रतिनिधिलाई एमसीसी पारित गर्ने प्रतिबद्धता व्यक्त गर्ने र नेपाली जनतालाई एमसीसीको बारेमा गुमराहमा राख्ने काम गरेको आरोप लगाए ।
पूर्व मन्त्रीसमेत रहेका ज्ञवालीले सभामुखले संसद्लाई बन्धक बनाएको आरोप लगाउँदै सभामुखको भूमिका नै विवादास्पद रहेको बताए । उनले एमसीसी संसद्मा लगेपछि नेकपा एमालेले आफ्नो धारणा राख्ने प्रष्ट पारे ।