‘श्रीमान’हरूले बनाएको वर्तमान सरकार संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गर्दैछ – ईश्वर पोखरे
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरूद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरूद्ध आन्दोलन गर्ने बताएका हुन्।
पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘श्रीमान’हरूले बनाएको वर्तमान सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘गठबन्धनकारी सरकार छ। यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन, देखेन, थाहा पाएन।
श्रीमानहरूले बनाए। श्रीमानहरूले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ।
कानुनलाई उल्लंघन गर्ने धृष्टता गर्दैछ। संविधानले किटानी गरेको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ। यसको बारेमा बोल्नु पर्छ कि पर्दैन?’
यदि यो स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरूद्धमा देशव्यापी रूपमा जनपरिचालन हुने उनले चेतावनी दिए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुनविपरीत काम गरे सञ्चार माध्यमहरूले पनि विरोध गर्नुपर्ने बताए।