हामीले चढेकै हो, राजदरवारको गाडी – गोपाल किराती
भदौ २०६५- जेठ २०६६ र भदौ २०६८ -बैसाख २०६९ गरि हामी दुई पटक मन्त्री भयौं। मन्त्रालय चाहिँ त्यही थियो- सँस्कृति तथा राज्य पुन:संरचना र दोस्रो पटकमा नाम फेरिएको सँस्कृति तथा संघीय मामिला। यो पनि सत्य हो कि गणतन्त्र नेपालको प्रथम सँस्कृतिमन्त्री हामी थियौं। त्यस बेला हामीले श्री ५ दिपेन्द्र शाहको गाडी चढ्यौं।
त्यस सम्बन्धमा एउटा टेलिभिजनले “खोजखबर” नाम दिएर ठुलै समाचार बनाउदै हालसालै प्रशारण गरेको भिडियो क्लिप अहिले चर्चामा रहेछ। पार्टीका सहयोद्वा कमरेडहरु, साथी शुभेच्छुकहरुको जिज्ञाशामा यहाँ संक्षिप्त विवरण प्रस्तुत छ। यो कुरा आत्मसँस्मरणमा लेख्ने विचार थियो। परन्तु, विवादित तुल्याउने अभिप्रायले प्रशारित सो समाचारको तथ्यसंगत खण्डनका निम्ति अहिल्यै लेख्नु पर्यो।
१. भदौ १५ गते २०६५ मा हामीले मन्त्री पदको सपथग्रहण गर्यौं। दिउँसो ४ बजेतिर तत्कालीन पूर्वी कमाण्ड ईन्चार्ज बादलले फोनबाट भने-” अहिले ५ बजे राष्ट्रपति भवन आउनु होला, मन्त्रीको सपथ लिन।” हामी पुग्यौं र सपथ लियौं। मन्त्रालय रहेछ, पर्यटन तथा नागरिक उड्डयनबाट फुटाइएको सँस्कृति र त्यसमा थपिएको राज्य पुन:संरचना। हाम्रो पहिलो सचिव हुन, लिलामणी पौडेल। उनैले शासन प्रशासन कार्यभार हामीलाई सर्वप्रथम अवगत गराए।
मन्त्रालय थियो, जम्मा चार कोठाको। गज्जब त के भने सहसचिवको कुर्सीमा राखेर हामीलाई मन्त्री पदमा बहाल गराइयो। स्रोतसाधनको ज्यादै अभाव। त्यसैले सिंहदरवारमा पाल टाँगेर मन्त्रालय चलाउने जमर्को पनि गर्नु पर्यो। विदेश जान लागेका प्रधानमन्त्री प्रचन्डको जहाज १० बजे नै उडेको भए पाल मन्त्रालय खडा गर्न हामी सफल भइसकेका थियौं। तर, जहाज दुई घण्डा ढिलो भएछ र त्यहाँ नयाँ इतिहास रच्ने अवसर चुक्यो।
२. मन्त्रीले नजिकमा हिंड्न एउटा लक्जरियस कार र टाढा जान अर्को फोर्विल गाडी पाउने प्रचलन रहेछ। तर, हामीलाई थोत्रो कार मात्र उपलब्ध थियो। थोत्रोमाथि त्यो कार ज्यादै होचो पनि थियो, किनकि त्यसको जात लक्जरियस थियो। जनताले चारैतिर कार्यक्रममा बोलाउने, हाम्रो कार भने किर्तिपुर र भक्तपुरसम्म पनि जान नसक्ने। क्या नमिठो अन्तर्विरोध! महान जनयुद्व लडेर आएको कार्यकर्ता, हामी त टेम्पो र बस चढेरै पुग्न तयार थियौं। तर, सुरक्षा सेना र प्रहरी किमार्थ मान्दैनथे। मन्त्रीको रक्षा र सघाउमा ती अत्यन्त दृढ रहन्थे। फोर्विल गाडीको पत्तो थिएन। पुरै मन्त्रालयमा एउटा पनि फोर्विल गाडी थिएन। दुई महिना यसरी कष्टले बिताइयो।
३. साह्रै पर्यो, लाजै भयो। एक दिन मन्त्रालय सचिव, निजी सचिव र स्वकीय सचिवको बैठक बोलाइयो। कार्यसूची तोकियो, फोर्विल गाडी व्यवस्थापनवारे। निश्कर्ष बन्यो कि नयाँ खरिद गर्न बजेट छैन, फेरि समय पनि लाग्छ। त्यसैले तत्कालका लागि मातहत सबैतिर खोजी गर्ने र उपलब्ध भएकोमध्ये मन्त्रीले प्रयोग गर्ने। खोजी सुरु भयो। मन्त्रालयको निर्देशन तथा स्वकीय सचिव र निजी सचिवको प्रयासमा नारायणहिटीबाट दुई वटा गाडी हाजिर गराइयो। त्यसमध्येको एउटा हामीले चढ्यौं, जुन दिपेन्द्रको नामको रहेछ। सिकार खेल्ने प्रयोजनमा ल्याइएको युवराजको गाडी माओवादी छापामारका लागि अच्छा थियो। आठ महिना चढियो। काठमाडौदेखि पूर्वमा उदयपुर-सप्तरी तथा पश्चिम बुटबलसम्मको यात्रामा त्यो गाडी चढियो।
४. हामीलाई त उकालो-ओह्रालो हिंड्ने बाहेक अरुमा किञ्चित सरोकार थिएन। तर, एक दिन पेरिसडाँडा बैठकमा नन्दकिशोर पुन (पासाङ) ले आँखा लाएछन। उनी भन्दै थिए- “मन्त्रीहरुमा किरातीजीले चढ्ने गाडी सबै भन्दा दामी छ।” त्यसपछि यो गाडी दामी रहेछ, भन्ने ठानियो। २०६५ हिउँदतिर एक दिन मन्त्रालय पुग्दा ढोका अगाडि क्यामेरा लिएर उभिएका रहेछन्, पत्रकार रेवती साप्कोटा। गाडीबाट निस्कदै गर्दा उनीहरुले फटाफट हाम्रो तस्वीर खिचे। भोलि अन्नपूर्णपोष्ट दैनिकको अग्रपृष्ठमा मुख्य समाचार छापियो, शिर्षक थियो-“श्री ५ युवराजको गाडीमा सर्वहारामन्त्री”। यध्यपि, त्यस समाचारमा मन्त्रीको भण्डाफोर थिएन। थियो त त्यसको केन्द्रीय तत्वमा गणतन्त्रको कमाल!
५. प्रधानसेनापति प्रकरणले सरकारबाट राजिनामा दिएर मन्त्रालय छाडेकै दिन उक्त गाडी नारायणहिटीमा बुझाउन लगियो। कुनै ताकेता नगरी स्वयं मन्त्रीले गाडी बुझाएकोमा नारायणहिटी संग्रहालय प्रमुख जयराम महर्जनले अत्यन्त खुशी व्यक्त गरे। त्यसैबाट हामीवीच आजीवन मित्रता पनि बन्न पुग्यो। मन्त्रालयको आवश्यकता पूर्ति गर्न नारायणहिटीबाट गाडी लिएर आउने हाम्रा तत्कालीन स्वकीय सचिव हिमाल (सुरेशकुमार राई) अहिले प्रचन्ड माओवादीका प्रतिनिधिसभा सदस्य छन। निजी सचिव जयराम श्रेष्ठ साँच्चैका जिम्मेवार अधिकृत हुन। प्रथम पटकमा हामीले व्यवहार गरेका मन्त्रालय सचिवहरु लिलामणी पौडेल, अवनिन्द्रकुमार श्रेष्ठ र छविराज पन्त थिए भने दोस्रो पटकमा दिनेश अधिकारी र ताना गौतम हुन। उहाँहरुका अतिरिक्त हामीसंग छ बर्षसम्म निजी सुरक्षा अधिकृत रहेका प्रनानि छविलाल योन्जन र गृह मन्त्रालयका सवारी चालक प्रसनि रामलाल चौधरी, जसले दिपेन्द्रको उक्त गाडी हाँकेका थिए, हामीले राजदरवारको गाडी चढ्नु परेको वस्तुगत स्थितिवारे जानकारहरु हुन।
६. जहाँसम्म “सोलुखुम्बू जाँदा दुर्घटनामा परेर गाडी थन्क्याइएको” भन्ने त्यस टेलिभिजनको टिपोट छ, २०६५-६६ मा सोलुखुम्बूमा सडक पुगेकै थिएन भने कहाँबाट गाडी पुग्यो अनि दुर्घटना भयो होला ? अत: तथ्यको आधारमा सत्य खोज्न र सर्वहारा मन्त्रीलाई अरु जस्तो नठान्न यसैसाथ आग्रह पनि छ।
७. स्मरण रहोस् कि राजदरवारको त्यही गाडी चढेर हामीले भारतीय भट्ट हटाएर पशुपतिमा नेपाली ब्राम्हण भट्ट नियुक्त गर्यौं। जसले, साँस्कृतिक स्वाधीनता उजागर गर्यो। त्यही गाडी चढेर हामीले आठ सय जिल्लाको नयाँ नेपालको विचार प्रवाहित गर्यौं। जसले, प्रशासनिक सुगमता सुदृढीकरणमा जनवादको सेवा गर्यो।