जागिरका लागि नै पुरुषको भेष बदल्न बाध्य भईन अनीरा
गत वर्षको नाभेम्बरमा दुई महिनाभित्र जागिरका लागि चौधौँ अन्तर्वार्ता दिन जाने क्रममा अनीरा काविरले पुरुषको पोशाक र टोपी र आफ्नो अनुहार छोप्न मास्क लगाएर गएकी थिइन् ।
३५ वर्षीया स्रोतलिंगी महिला काविराले त्यसअघिका अन्तर्वार्ताहरूमा स्रोतलिंगीविरुद्ध हुने गरेका अप्रिय टिकाटिप्पणीका कारण आफूले त्यसरी रूप लुकाउन खोजेको बताएकी छन् ।
हुन त उनले विगतमा दक्षिण भारतीय राज्य केरलाको एउटा सरकारी विद्यालयमा पार्ट–टाइम काम पाएकी थिइन् । तर दुई महिना नबित्दै उनलाई विनाकारण जागिरबाट निकालियो । यस विषयमा सो विद्यालयका प्रधानाध्यापकले केही पनि बोल्न चाहेनन् ।
जीवनदेखि करिब निराश हुनपुगेकी काविरले गत जनवरीमा राज्यको कानुन परामर्श सेवा कार्यालयमा गएर आफ्ना लागि स्वेच्छिक मृत्यु ( युथ्नेजिया ) को कानुनी अधिकार माग गरिदिने एक वकिल खोजिन् ।
काविर भन्छिन्, “मैले वास्तवमा दुई छाक पेट पाल्नका लागि काम खोजेकी थिएँ । तर त्यही पनि असम्भव हुन पुग्यो ।”
उनले अन्य मुलुकमा इच्छा मृत्युको अनुमति पाइने गरेको भन्ने सुनेकी थिइन् । काविर भन्छिन्, “मलाई थाहा छ, भारतमा मैले त्यो अनुमति पाउँदिन्ँ । तर त्यसको माग गरेर म समाजमा सन्देश फैलाउन चाहन्थेँ ।”
उनको आवाज साँच्चै सम्बन्धित निकायमा पुग्यो । उनले अर्को जागिर पाइन् । वास्तवमै उनलाई मर्ने रहर थिएन । उनी यस प्रयासबाट बलियो सन्देश मात्र दिन चाहन्थिन्
आफ्नो मागप्रति ध्यानाकर्षण गराउन भारतमा यस्ता नाटकीय कार्यहरू हुने गरेका छन् । वर्षौंदेखि भारतीयहरूले यसका लागि भोक हडताल, थुप्रै दिन कम्मर माथिसम्म पानीमा डुबेर बस्ने र मुखले जिउँदै मुसा च्यापेर बस्ने जस्ता काम गर्दै आएका छन् ।
महात्मा गान्धीले पनि भोक हडताललाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेका थिए ।
हैदरावाद विश्वविद्यालयमा राजनीति शास्त्र अध्यापन गर्ने एनाघा इन्गोलेले काविरको प्रयासले सरकारले नागरिकको रोजगार पाउने हक सुनिश्चत गर्न नसकेको प्रति ध्यानाकर्षण गरेको बताउँछिन् ।
भारतमा अझै पनि स्रोतलिंगीहरूप्रति निकै भेदभाव र दुर्व्यवहार हुने गरेको छ । भारतमा करिब २० लाख स्रोतलिंगी भएको अनुमान गरिन्छ ।
अभियन्ताहरू भने वास्तविक संख्या यो भन्दा बढी भएको बताउँछन् । सन् २०१४ भारतको सर्वोच्च अदालतले स्रोतलिंगीले पनि अन्य लिंगीले जस्तै समान अधिकार उपभोग गर्न पाउने जनाएको थियो ।
काविरले स्रोतलिंगी समुदायलाई राजनीतिक प्रतिनिधित्व र जागिरको कोटा चाहिने बताएकी छन् ।
केन्द्रीय केरलाको पालाक्कादमा हुर्केकी उनले आफ्नो लिंग पहिचानका लानि नै आफूले वर्षौं संघर्ष गरेको बताउँछिन् ।
किशोरावथामा उनले पालाक्कादकै अन्य स्रोतलिंगीहरूको सम्पर्कमा जान खोजेकी थिइन् । तर, अघिल्लो प्रयासमा प्रहरीबाट पक्राउ भएको सम्झेर उनले दोस्रो प्रयास गरिनन् ।
एउटा अखबारमा आफूजस्तै स्रोत लिंगीहरूका तस्बिर छापिएको देखेर उनी एकपटक घर छाडेर बैग्लोरतर्फ भागिन् ।
उनले आफूलाई सहयोग र स्वीकार गर्ने स्रोतलिंगी समुदाय त भेटाइन् । तर तिनीहरू आफैँ वर्षौंसम्म मागेर लिंग सुधार शल्यक्रियाका लागि पैसा जुटाउने दुख गर्दारहेछन् ।
निराश भएर घर फर्केकी उनी फेरि परिवारले चाहे जसरी जिउने प्रयासमा लागिन् ।
उनले आफ्नो पुरुष स्वभाव देखाउन चुरोट पिउन, जिम जान र व्यक्तित्व विकास तालिमहरू लिन थालिन् । तर आफ्नो हुँदै नभएको अस्तित्व बोकेर बाँच्न उनलाई झनै गाह्रो हुन थाल्यो ।
बाल्यकालदेखि पढाउन भनेपछि हुरुक्कै हुने उनले त्यसपछि कडा मिहेनत गरेर पढ्न थालिन् ।
त्यसै क्रममा आत्मविश्वासका साथ आफ्नै तरिकाले जिउन उनले घर छाडिन् । शिक्षा विषयमा लगायत उनले अन्य दुई गरी तीन विषयमा स्नातकोत्तर उपाधि हासिल गरिन् ।
उनले राज्य स्तरको परीक्षा उत्तिर्ण गरी सिनियर स्कूलका विद्यार्थीहरूलाई पढाउने अनुमति पनि हासिल गरिन् ।
तर जागिर खान जाने क्रममा उनले निकै झन्झट ब्यहोर्नु पर्यो । एक ठाउँमा त अन्तर्वार्ता लिने व्यक्तिले उनले बिद्यार्थीहरूलाई यौनको आँखाले नहेर्ला भनेर कसरी विश्वास गर्न सकिन्छ सम्म भन्न भ्याए ।
अन्नत: एउटा समाजशास्त्र पढाउने कनिष्ठ शिक्षकको पदमा काम पाउन उनले आफू स्रोतलिंगी भएको वास्तविकता खुलेरै बताइन् ।
उनले आफूसँग कोठा बहाल तिर्न समेत पैसा नभएकाले आफूलाई जागिरको अत्यावश्यक भएको बताइन् ।
उनले अस्थायी जागिर त पाइन् तर आफ्नै सहकर्मीहरूले उनीमाथि असहनिय टिप्पणी गर्ने गरेका छन् ।
सन् २०२१ को नोभेम्बरदेखि आफूलाई सुरु देखि मनपर्ने शिक्षण पेशा अपनाएकी उनले आफूलाई विद्यार्थीहरूले भने सहयोग र समर्थन गर्नेग रेको बताउँछिन् ।
तर ६ जनवरीमा अचानक उनलाई विनाकारण विद्यालय नआउन भनिएपछि काविर अत्यन्तै हताश भइन् ।
त्यसपछि उनी विद्यालय वरपरका पसलहरूमा गएर आफूलाई सेल्स पर्सनको जागिर मिल्छ भनेर सोध्दै हिँडिन् । कसैले पनि उनलाई जागिर दिन मानेनन् ।
तसर्थ उनी स्थानिय निकायको ध्यान तान्न इच्छा मृत्युको कानुनी प्रक्रियामा लागिन् । यो खबर तुरुन्तै भाइरल भयो ।
केरालाका शिक्षामन्त्रीले तत्कालै काविरसँग भेटे । उनले हालसालै पालाक्कादकै एउटा सरकारी कार्यालयमा अस्थायी जागिर सुरु गरेकी छन् ।
भारतमा उनी जस्तै अन्य थुप्रै अझै सहयोगको अपेक्षामा बसेका छन् । एजेन्सी