फेसबुकविरुद्ध आपराधिक मुद्दा दायर
अष्ट्रेलियाका एकजना अर्बपतिले फेसबुकविरुद्ध आपराधिक मुद्दा सुरु गरेका छन् ।
उनले फेसबुकलाई आफ्नो तस्बिर प्रयोग गरी बनाइएका झुक्याउने खालका विज्ञापनहरू रोक्न असफल भएको आरोप लगाएका छन् ।
एन्ड्रयु फोर्रेस्टले क्रिप्टोकरेन्सी ठगीका विषयमा फेसबुकले अष्ट्रेलियाली मुद्रा अपचलनविरुद्धका कानुन उल्लंघन गरेको गुनासो गरेका छन् ।
फोर्रेस्टले विश्वमै पहिलोपटक फेसबुकले आपराधिक मुद्दा सामना गरिरहेको बताएका छन् ।
फेसबुकका मालिक मिटाले डा. फोर्रेस्टको मुद्दाबारे केही टिप्पणी नगरे पनि यस्तो जालसाजी गर्ने मानिसलाई आफ्नो प्लेटफर्मबाट हटाउन कटिबद्ध रहेको जनाएको छ ।
खानी सञ्चालक फोर्टेस्क्यु मेटल्सका अध्यक्ष डा. फोर्रेस्टले पहिलोपटक सन् २०१९ मा देखापरेका त्यस्ता जालसाजीपूर्ण विज्ञापन रोक्न नसक्नु फेसबुकको अपराध भएको बताएका छन् ।
मानिसलाई धनी बनाइदिने वाचा र लोभ देखाउँदै झुटो लगानीमा आकर्षित गर्नका लागि त्यस्ता जालसाजीमा उनीलगायत अरू व्यक्तिहरूका तस्बिरको दुरुपयोग गरिएको थियो ।
फेसबुकले यस्ता विज्ञापनहरूमाथि पहिले नै प्रतिबन्ध लगाइसकेको भए पनि अझै केही त्यस्ता विज्ञापन प्लेटफर्ममा देखिने गरेका छन् ।
डा. फोरेस्टले आफूले सन् २०१९ को नोभेम्बरमा फेसबुकका मालिक मार्क जुकरवर्गलाई त्यस्ता क्रियाकलापविरुद्ध थप कारबाही गर्न एउटा खुलापत्र लेखेको पनि स्मरण गराएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै खानीजगत्का चर्चित व्यवसायी डा. फोर्रेस्टले भनेका छन्, “सामाजिक सञ्जालमा क्लिकवेट एडभरटाइजिङमार्फत निर्दोष अष्ट्रेलियालीहरूलाई फसाइँदै गरेकोमा मलाई चिन्ता लागेको छ ।
म अष्ट्रेलियालीहरूका लागि कारबाहीमा उत्रेको छु । तर, यस्तो काम विश्वभरि भइरहेका छन् ।”
आउँदो मार्च २८ मा वेस्टर्न अष्ट्रेलियाको अदालतमा यस मुद्दाको सनुवाइ हुने भएको छ ।
डा. फोर्रेस्टले फेसबुकको प्रधान कार्यालय रहेको अमेरिकाको क्यालिफोर्निया राज्यमा पनि यस सम्बन्धमा सार्वजनिक मुद्दा दायर गरेका छन् ।
मुद्दामा उनले फेसबुकलाई यस्तो विज्ञापन चक्रबाट फाइदा हुने कुरा जानकारी रहेको पनि आरोप लगाएका छन् ।
अष्ट्रेलियाली सञ्चारमाध्यमले डा. फोर्सेस्टको तस्बिर दुरुपयोग गरिएको विज्ञापनमार्फत लगानी गरेर एकजना पीडित अष्ट्रेलियालीले ६ लाख ७० हजार अमेरिकी डलर गुमाएको उल्लेख गरेको छ ।एजेन्सी