रुसलाई अमेरिकाले युद्धमा तान्न खोज्दै छ – पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।
युक्रेन संकट बढिरहेको कैयौँ साताहरूपछि महत्त्वपूर्ण टिप्पणी गर्दै राष्ट्रपति पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा टकराव प्रयोग गर्नु रहेको बताए ।
उनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाको बारेमा रुसको चिन्तालाई बेवास्ता गरिरहेको पनि बताए ।युक्रेनको सिमानानजिक रुसी सेना तैनाथ भएपछि तनाव बढेको छ । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा झन्डै एक लाख फौज तैनाथ गरेको छ ।
रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डानबोस क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको पश्चिमी आरोपलाई अस्वीकार गरिरहेको छ ।
मस्कोले युक्रेनलाई पूर्वी क्षेत्रमा शान्ति पुनःस्थापना गर्न गरिएको एउटा अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ । त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुससमर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन् ।
पुटिनले के–के भने ?
राष्ट्रपति पुटिनले अमेरिका युक्रेनको सुरक्षाबारे चिन्तित नभएको पनि आरोप लगाएका छन् । उसको काम रुसको विकासलाई रोक्नु रहेको उनको भनाइ छ ।
मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि बोल्दै पुटिनले भने, “संयुक्तराज्य अमेरिका युक्रेनको सुरक्षाबारे धेरै चिन्तित छैन । तर, यसको मुख्य काम रुसको विकासलाई रोक्नु हो । युक्रेन त्यो अमेरिकी लक्ष्यमा पुग्नका लागि एउटा मोहरा मात्र हो भन्ने देखिन्छ ।”
विश्वसका सबैभन्दा ठूला परमाणु हतियार भएका रुस र अमेरिकाबीचको प्रतिद्वन्द्व शीतयुद्धकालदेखिको हो । युक्रेन त्यति बेला कम्युनिस्ट सोभियत संघको महत्त्वपूर्ण हिस्सा थियो ।
पुटिनले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुने गरी सुरक्षा सुनिश्चिता गर्न रुसले गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको बताए ।
उनले युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अरू सदस्य राष्ट्रहरूलाई पनि रुससँग युद्धमा तान्न सक्ने चेतावनी दिए ।
उनले भने, “कल्पना गर्नुहोस्, युक्रेन नेटोको सदस्य भयो र (क्राइमिया पुनः प्राप्त गर्न) सैन्य अभियान सुरु ग¥यो भने ? के हामी नेटोसँग लड्न जाँदै छौँ ? कसैले यसबारे सोचेको छ ? यस्तो देखिन्छ उनीहरूले त त्यो सोचेकै छैनन् ।”
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि हुने कुनै पनि रुसी आक्रमणले युरोपमा पूर्ण मात्राको युद्ध निम्त्याउने चेतावनी दिएका छन् । उनले त्यस्तो भएमा त्यो निकै दुःखद हुने बताए ।
जेलेन्स्कीले युद्ध नचाहेको देखाउन रुसको एक मात्र तरिका भनेको युक्रेनको सिमानाबाट आफ्ना सेना फिर्ता गर्नु भएको बताए ।
यसैबीच, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनको भ्रमण गरिरहेका छन् । उनले रुसी आक्रमणलाई दृढ युक्रेनी सेनाले सामना गर्ने बताइसकेका छन् ।एजेन्सी