राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यमाथि हातपात गर्नेलाई कारबाहीको माग
काठमाडौँको समाखुशीमा रहेको ट्रिपल स्टार म्यानपावर कार्यालय परिसरमा भएको हुलदङ्गा तथा कुटपीट घटनाको समाचार संकलन तथा फोटो खिच्न पुगेका फोटोपत्रकार महेश्वर के.सी माथि भएको आक्रमणप्रति राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाका महासचिव नवराज श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै न्यूज २४ नेपाल डट टिभीका फोटोपत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य के.सीमाथि भएको दुर्व्यवहारको भत्सना गरेको हो।
‘म्यानपावरबाट खटाएका व्यक्तिहरूले हातपात प्रयास गर्दै समाचार संकलन तथा फोटो कैद नगर्न धम्की दिने, क्यामेरा खोसेर लगिएको घटना प्रति राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल गम्भीर भत्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ।
महासचिव श्रेष्ठले विज्ञप्ति मार्फत ‘स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि म्यानपावर कम्पनीले आफ्नो कुकित्य र अपराध ढाकछोप गर्ने नाममा पत्रकार माथि दुर्व्यवहार, हातपातको प्रयास गर्दै सञ्चार उपकरण खोसी लैजानेकार्यको जति भत्सना गरे पनि कमै हुने बताएका छन् ।
उनीहरुको यो हर्कतले प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप भएको उनको भनाइ छ ।
‘एनएफपिजे फोटोपत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ ।’
उनले विज्ञप्तिमा भनेका छन्, घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही र खोसिएको क्यमारा फिर्ता गर्न माग गर्दछ ।
प्रेसको संवैधानिक अधिकारको सम्मान गरी फोटोपत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग राष्ट्रिय फोटो पत्रकार समूह जोडदार माग गर्दछ ।’