सांसद प्रमिला राईद्वारा सही जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग
प्रतिनिधि सभाका सांसदहरूले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न समेत माग गरिन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरे।
उनले काठमाडौंमा सधैं माइग्रेसन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए।
सांसद पाण्डेले भने, ‘काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ। किन, यो राजधानी हो। यो अस्थायी माइग्रेसन संघीयताले पनि रोकेको छैन।
उता अरू जिल्ला बढ्ने र काठमाडौं नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस्। कतै राम्रो भएन कि।
या अस्थायी रूपले माइग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरू कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि ?
केही त जष्टिफिकेसन हुनु पर्यो नि। कोभिडका कारण विद्यार्थीहरू बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किए कि! नत्र भने यो तथ्य मिलेन। विगतमा त्यो बढेर आउथ्यो।’
कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन्।
उनले विदेशमा गएको नेपालीहरूको जनगणना गर्ने कार्ययोजना के छ ? भनि केन्द्रीय तथ्यांक विभागलाई प्रश्न गरिन्।
सांसद राईले गणकहरूलाई घर-घरमा पुर्याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन्।
उनले भनिन्, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन। मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन।
र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त ? पहिले जनगणना हुँदाखेरी घर-घरमा गएर सबै परिवारसँग सोधेर या घरको अभिभावकसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति ?
सबै तथ्यांक लिइन्थ्यो। यो कुराहरू मैले मेरो टोलमा पाइनँ। तर यसलाई सिरियस्ली रूपमा राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन।मलाई लाग्छ, फेरि पनि पुनर्गणना गर्यो भने सही तथ्यांक आउँछ।’
यता, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए।
उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए।
महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नतिजाको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको पनि बताए।