मन्त्रिपरिषद् बैठकका सात निर्णयहरु
सरकारले दूधको न्यूनतम मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
बैठकले विश्व बैंकको १८अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ भने ‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोरण गर्दा लाग्ने दस्तुरमा छुट दिने निर्णय गरेको छ। बैठकले शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरेको छ ।
त्यस्तै, बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धरलाई नियुक्त गरेको छ भने नेपाल टेलिभिजनको अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्नेसहित बढुवा समितिको सिफारिसबमोजिम कर्मचारीहरूको बढुवा गर्ने निर्णय गरेको छ ।