उपसभापति र महामन्त्रीद्वारा देउवालाई चुनाव वैशाखमै गर्न सुझाव
नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई स्थानीय तहको चुनाव गर्न तोकिएकै समयमै गर्न सुझाव दिएका छन् ।
शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकपछि देउवासँग दुईजना उपसभापति र दुईजना महामन्त्रीले भोलिको गठबन्धनसँगको बैठकमा स्थानीय तहको चुनावमा आगामी वैशाखमै हुनुपर्ने धारणा राख्न सुझाव दिएका हुन् ।
बैठकमा सहभागी महामन्त्री गगन थापाले आफूहरूले दिएको सुझावमा सभापति देउवा सकारात्मक रहेको बताए ।
“सभापतिले गठबन्धनमा राख्छु भन्नुभएको छ । उहाँले गठबन्धनमा त्यो कुरा राख्नुहुन्छ भने आशा गरेका छौँ,” थापाले भने ।