किरात राईहरुको नछुङ, माङपा तदर्थ समिति गठन
किरात राईहरुको माङ्पा, नछुङ (धामी) हरुको दोश्रो भेलाले केन्द्रिय समिति गठन भएको छ ।
इटहरी स्थित किरात राई सुम्निमा संघको सभा हलमा सम्पन्न सो भेलाले ७ सदस्यीय केन्द्रिय तदर्थ समिति चयन गरेको छ ।
किरात मुन्दुम अध्ययन केन्द्रद्धारा आयोजित सो कार्यक्रम २ दिन सञ्चालन भएको थियो ।
किरात समुदायको जन्म देखि मृत्युसम्म गरिने संस्कारको विषयमा जानकार नछुङ, माङ्पाहरु नै भएकोले उनिहरुलाई संगठित गर्न आवश्यक देखिएको सांस्कृतिक अभियन्ता मुलघरे कान्छा राजेन खिम्बुलेले बताए ।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले पनि मुन्दुम अध्ययन केन्द्रको यो कमद स्वागतयोग्य भएको बताए ।
उनले भने सांस्कृतिक पुस्ता हस्तान्तरण हुन नसकेको कारण सांस्कृतिक पलायनले चरम रुप लिएको अवस्थामा नछुङ, माङ्पालाई संगठित गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रमको पहिलो दिन औपचारिक कार्यक्रमसँगै उपस्थित नछुङ, माङ्पाबाट रिसिया संकलन गरिएको थियो ।
किरात मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष जितेन राईले भने मुन्दुम दर्शनमा रिसिया महत्वपुर्ण पक्ष भएकोले नछुङ, माङ्पाबाट संकलन गरिएको बताए ।
उनको अनुसार राईहरुमा पाछागत र भाषागत हिसाबमा केहि फरक पाइने भएकोले अहिले राई नछुङ, माङपाहरुबाट रिसिया संकलन गरिएको बताए ।
अब अन्य किराती समुदायबाट पनि यस किसिमको अभियानमा सहकार्य गर्ने उनले बताए ।
किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी मोरङ तदर्थ समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रमबाटपछि थप गर्नेगरि ७ सदस्यीय नछुङ, माङ्पाहरुको समिति चयन गरेको हो ।
माङ्पा उदिप बहादुर राईको संयोजकत्वमा चयन भएको समितिमा ढक बहादुर राई सह–संयोजक, मनि कुमार राई सचिव, कुमार राई सह–सचिव, फुलमान राई सदस्य, गरस राई सदस्य लगायत ७ सदस्यीय रहेका छन ।
त्यसै गरेर नवगठित समितीले माङपा रण बहादुर राईलाई सल्लाहकारमा मनोनित गरेको छ ।
उपस्थित नछुङ माङ्पाहरूलाइ सांस्कृतिक अभियन्ता मुलघरे कान्छा र मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष जितेन राईले फेटा लगाइदिएर सम्मान समेत गरेका थिए ।