आज मध्यरातबाट मौन अवधि सुरु हुँदै
माघ १२ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
निर्वाचन आयोगले आइतबार नै विज्ञप्ति जारी गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु हुन लागेको जानकारी दिएको छ ।
मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उम्मेदवारले मत माग्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार मौन अवधिको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन । यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।
उम्मेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ ।
आयोगले निर्वाचनमा भाग लिने मतदाताहरूलाई मतदाता सूचीमा आफ्नो नाम भए/नभएको यकिन गर्न पनि अनुरोध गरेको छ ।
जसका लागि आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचनमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग ‘क्रस भेरिफाइ’ गर्न अनुरोध गरिएको छ ।