Logo

नेपाल पुलिस क्लब फाइनलमा


दीपेन्द्रसिंह ऐरीको पाँच विकेट तथा पवन सर्राफको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले मंगलबार वाग्मती प्रदेशलाई ५० रनले हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

पुलिसले अब उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको दोस्रो सेमिफाइनल खेल पनि आजै हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुिलसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनायो ।

१५६ रनको लक्ष्य पछ्याएको वाग्मतीले ८ विकेट गुमाएर १०५ रन मात्र जोड्न सक्यो ।

पुलिसका ओपनर पवनले ५९ रन बनाए । पवनले ५४ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । पवनले पहिलो विकेटका लागि शंकर रानासँग २७ रनको साझेदारी गरे ।

शंकर ८ र दीपेन्द्रसिंह ऐरी शून्य रनमा पवेलियन फर्किएपछि पवनले अनिल शाहसँग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे । अनिलले २५ रन बनाए ।

त्यसबाहेक पुलिसका लागि आरिफ शेखले १२ रन बनाउँदा दिलीप नाथ ३१ रनमा अविजित रहे ।

वाग्मतीका नन्दन यादव र रिजन ढकालले समान दुई विकेट लिँदा प्रतिश जिसीले एक विकेट लिए ।

पुलिसका दीपेन्द्रसिंले पाँच विकेट लिएपछि वाग्मतीका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

दीपेन्द्रसिंहले चार ओभरमा १० रन दिएर पाँच विकेट लिएका थिए । उनीबाहेक सागर ढकाल दुई र आरिफले एक विकेट लिए ।

वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले २३ र आदिल खानले २७ रन बनाए । रामनरेश गिरी २२ र रिजन ढकाल १५ रनमा अविजित रहे । अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्