प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ताले तय गर्यो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
कोरोना संक्रमणमुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्ता सुरु गरेका छन्।
यसै क्रममा प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आज बिहानै भेटवार्ता गरेका छन् ।
आज बिहान वालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
स्थानीय तहको चुनावबारे छलफल गर्न उनीहरूबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ।
आईतबार कोरोनामुक्त भएका प्रचण्ड प्रधानमन्त्रीसँग छलफल गर्न बिहानै बालुवाटार पुगेका थिए ।