संक्रमणदर घटाउन विभिन्न प्रावधानसहितको कदम चाल्न तीन जिल्लाका प्रजिअहरुको बैठक बस्दै
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक आज बस्दै छ ।
कोरोना संक्रमण दर उच्च हुँदै गएपछि यसको नियन्त्रणका लागि प्रभाकारी कदम कसरी चाल्ने भन्ने निर्णय गर्न बैठक बस्न लागेको हो ।
सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन, माघ १५ गतेसम्म शैक्षिक संस्थाहरु बन्द गर्न, सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा खोप लगाएको खोप कार्ड देखाउनुपर्ने व्यवस्था गर्ने सरकारले निर्णय गरिसकेको छ ।
यसलाई नियमन गर्दै थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
कोरोना महामारीको चेन बे्रक गर्न भिडभाड नियन्त्र गर्नैपर्ने निष्कर्षमा प्रशासनिक अधिकारीहरु पुगेका छन् ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पहिले भन्दा प्रतिवन्धात्मक व्यवस्थालाई सहज गर्ने गृहकार्य गरिरहेको जानकारी दिइन् ।
उनले सीसीएमसीसीले गरेका निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने र सर्वसाधारणलाई सहजीकरणका प्रावधानहरु ल्याइने बताइन् ।
जिल्ला प्रशासन कार्यालयहरुले प्रतिवन्धात्मक व्यवस्थालाई मात्रै प्राथमिकता नदिइ, खोप कार्यक्रम, स्वास्थ्य मापदण्ड, जनजीवन सहजीकरणलाई प्रभावकारी ढंगले अगाडि बढाइने जनाएका छन् ।
पहिलेको अवस्था दोहोरिन नदिन स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी पूर्वतयारीको गृहकार्य थालेको ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।
संयुक्त रुपमा उपत्यकाको संक्रमणदर घटाउन विभिन्न प्रावधानसहितको कदम चाल्न तीन जिल्लाका प्रजिअहरुको बैठकले निर्णय गर्नेछ ।
पछिल्लो समय कोरोनाको तेस्रो लहर फैलने जोखिम उच्च रहेकाले पुनः पहिलेजस्तै अवस्था आउन सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
यद्यपि, संक्रमण दर ओमिक्रोनको उच्च रहे पनि डेल्टा भेरियन्टजस्तो मुत्यु दर भने उच्च छैन । त्यसैले नडराउन तर सचेत रहन स्वास्थ्यविज्ञहरुले बताउँदै आएका छन् ।