मेस्सी, लेवान्डोस्की र सलाह फिफा अवार्डको अन्तिम मनोनयनमा
ऐजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।
फिफाले सार्वजनिक गरेको यसपालीको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह परेका छन् ।
वर्ष खेलाडी महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास परेका छन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।
वर्ष गोलरक्षक अवार्डका लागि जर्मन क्लब बायर्न म्युनिखका म्यानुएल नुएर, चेल्सीका इडुवार्ड मेन्डी र पिएसजीका जियानलुगी डोनररुम्मा परेका छन् ।
त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा छन् ।
फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ ।
सन् २०१६ देखि फिफाले दिन थालेको यो अवार्ड पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक दुई पटक सन् २०१६ र २०१७ मा लगातार जितेका थिए। त्यस्तै, क्रोयसियाका लुका मड्रिक, अर्जेन्टिनीका मेस्सी र पोलिसले क्रमश सन् २०१८, २०१९ र २०२० मा एक एक पटक जितेका छन्।
फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने जनाएको छ ।