मस्कद्वारा आफ्ना स्याटलाइटहरुले अन्तरिक्षमा कब्जा जमाइरहेको आरोप अस्वीकार
स्पेस एक्स कम्पनीका मालिक एलन मस्कले उनको स्टारलिंक इन्टरनेट प्रोजेक्टले अन्तरिक्षमा बढी नै ठाउँ लिइरहेको भन्ने आरोप अस्वीकार गरेका छन् ।
उनले फाइनान्सियल टाइम्ससँग अन्तरिक्षमा दशौँ अर्ब स्याटलाइट पृथ्वीको नजिकै अटाउन सक्ने भन्दै प्रतिक्रिया दिएका हुन् ।
यसअघि युरोपेली स्पेस एजेन्सीका प्रमुखले सम्भावित व्यवसायिक अन्तरिक्ष उद्योगका लागि मस्कले नयाँ नियम बनाउन खोजिरहेको आरोप लगाएका थिए ।
चीनले पनि स्टारलिंकसँग ठोक्किनबाट जोगिन आफ्नो स्पेस स्टेसन नै यताउती गर्नुपरेको गुनासो गरेको थियो ।
यस्तोमा मस्कले अन्तर्वार्तामा भनेका छन्, “अन्तरिक्ष वास्तवमै धेरै ठूलो छ र स्याटलाइटहरु त्यसको तुलनामा एकदमै साना हुन्छन् ।”
स्टारलिंक इन्टरनेट सेवाको परियोजनाले स्याटलाइट उद्योगको प्रतिस्पर्धामा कुनै अवरोध नपुर्याएको दाबी गरेका हुन् ।
उनका अनुसार पृथ्वीको बाहिरी पथमा अझै पनि धेरै ठाउँ छ । उनले थप भनेका छन्, “यो त्यो अवस्था होइन जसमा हामीले जानीजानी अरुको बाटो रोकिरहेका छौँ ।
हामीले कसैलाई पनि केही गर्न अवरोध पुर्याएका छैनौँ र हामी त्यस्तो गर्न पनि चाहदैनौँ । अन्तरिक्षमा केही हजार स्याटलाइट भनेको केही पनि होइन । यो पृथ्वीमा केही हाजर गाडी जत्तिकै हो जुन ठूलो कुरै होइन ।”
तर, अर्कोतर्फ युरोपेली स्पेस एजेन्सीका जेनेरल जोसेफले स्टारलिंकले लन्च गरेका हजारौँ संचार स्याटलाइटहरुको परिणाम स्वरुप भविष्यमा अन्य प्रतिस्पर्धीहरुका लागि अन्तरिक्षमा कम ठाउँ रहने चेतावनी दिएका छन् ।
विज्ञहरुका अनुसार अन्तरिक्षमा दुर्घटना या टकरावबाट जोगिन मस्कले दाबी गरेभन्दा धेरै ठूलो ठाउँ या ठूलो दूरी आवश्यक पर्नेछ ।
यसअघि पनि वैज्ञानिकहरुले विश्वभरका सरकारहरुलाई पृथ्वी बाहिर रहेका अनुमानित ३० हजार स्याटलाइट र पृथ्वी वरपर घुमिरहेका अन्य अवेशशहरु ठोक्किनबाट जोगाउन सबैले नियमित जानकारी आदान प्रदान गर्नुपर्ने बारे चिन्ता जनाएका थिए ।
चीनको गुनासो पछि यस हप्ता मस्कले सामाजिक संजालमा धेरै आलोचनाहरु खेप्नु परेको छ ।
चिनियाँ स्पेस स्टेसनले दुईपटक स्टारलिंकका स्याटलाइटहरुसँग नजिकिएर सम्पर्कमा आउनुपरेको बेइजिङको भनाइ छ । यसबारे चीनले संयुक्त राष्ट्र संघको अफिसमा डक्युमेन्ट नै बुझाएको हो ।
मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले अहिलेसम्म स्टारलिंक नेटवर्क अन्र्तगत १,९०० वटा स्याटलाइट लन्च गरिसकेको छ भने अझ हजारौँ स्थापित गर्ने योजना बनाइरहेको छ । एजेन्सी



