इजरायल कोभिड–१९ को चौथो डोज खोप लगाउने पहिलो मुलुक बन्ने भएको छ ।

नयाँ ओमिक्रोन भेरियेन्टको लहर फैलिएसँगै संक्रमण बढ्न नदिन इजरायलमा चौथो डोज दिन लागिएको हो ।

यसमा इजरायलका महामारी विशेषज्ञहरुले नै स्वास्थ्यकर्मी र ६० वर्षमाथि उमेरकाहरुमा चौथो डोजको बुस्टर खोप लगाउन सुझाव दिएका थिए ।

प्रधानमन्त्री नेफ्तली बेनेटले पनि यस सुझावलाई स्वागत गर्दै आफ्ना अधिकारीहरुलाई तयारी गर्न निर्देशन दिइसकेका छन् ।

गत मंगलबार मात्र इजरायलले ओमिक्रोन भेरियेन्टबाट संक्रमित पहिलो बिरामीको मृत्यु भएको खबर गरेको थियो ।

स्वास्थ्य मन्त्रीका अनुसार इजरायलभरि यसका ३४० संक्रमित फेला परिसकेका छन् ।

तेस्रो डोज लिएको चार महिना पुगिसकेकाहरुलाई यो चौथो बुस्टर डोप खोप लगाउने अपेक्षा गरिएको प्रधानमन्त्री बेनेटले बताए ।

हाल यो निर्णय देशका वरिष्ठ स्वास्थ्य अधिकारीहरुबाट स्वीकृत हुने पर्खाइमा छ ।

यो सेवालाई सम्भव भएसम्म चाँडो उपयोग गर्न आग्रह गर्दै बेनेटले भनेका छन्, “वास्तवमै यो धेरै खुसीको कुरा हो ।

अहिले पूरै दुनियाँ गुज्रिरहेको ओमिक्रोन लहरविरुद्ध लड्न यसले हामीलाई धेरै ठूलो सहायता गर्नेछ ।”

कोभिड–१९ का खोपहरु पहिलोपटक लन्च हुँदादेखि नै इजरायलले खोप लगाउने प्रक्रिया तिव्र रुपमा सुरु गरेर खोप अभियानमा विश्वमै अगाडि रहेको थियो ।

तर, यति गर्दा पनि त्यहाँ देशभरका ६३ प्रतिशत, ९३ लाखले मात्र दुई डोज खोप लगाएका छन् ।

इजरायलमा युवा वर्गको दर तुलनात्मक रुपमा उच्च भएकाले पनि यस्तो तथ्यांक आएको बताइन्छ ।

त्यहाँका एक तिहाइभन्दा बढी जनसङ्ख्या १४ वर्ष कम उमेरका छन् ।

त्यसैले यसको समाधानमा सरकारले नोभेम्बरदेखि पाँच वर्ष माथिका बालबालिकालाई पनि खोप लगाइने घोषणा गरेको हो ।

सोमबार प्रधानमन्त्री बेनेटले देशका सबै योग्य बालबालिकाहरले आगामी दुई हप्ता भित्रै खोप लगाएर नयाँ लहरको संक्रमणबाट समुदायलाई जोगाउन मद्दत गर्न भनेका हुन् ।

त्यसैगरी इजरायलले भाइरस फैलन नदिन अमेरिका, जर्मनी, क्यानडालगायत विभिन्न देशमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

जोन होप्किन्स युनिभर्सिटीका अनुसार इजरायलमा कोभिडबाट १३ लाख ६० हजार बढी संक्रमित भएका थिए भने हालसम्म ८ हजार २०० को मृ’त्यु भइसकेको छ ।एजेन्सी