माघको अन्तिम साता नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यले सेलिब्रेटी नेपालले माघको अन्तिम साता चलचित्र महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
उनले महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरु समेत समावेश गर्न सकिने बताए ।
चलचित्र स्क्रिनिङसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसपको आयोजना समेत गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कशप तथा मास्टर क्लास हुने, चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरक्रिया हुने, उत्कृस्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड वितरण गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।
कार्यक्रम गरिने क्षेत्रको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाइएको छ ।
नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसा तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष सापकोटाले बताए ।



