Logo

डेल्टाभन्दा हल्का ओमिक्रोन, यसका मुख्य लक्षणहरु यस्ता छन्


दक्षिण अफ्रिकी डाक्टरहरुले कोरोना भाइरसको नयाँ भेरियेन्ट, ‘ओमिक्रोन’ को असर अहिले विश्वभर व्याप्त डेल्टा भेरियेन्ट भन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियेन्टबारे अहिले नै कुनै निष्कर्ष निकाल्न नसकिने बताइरहे पनि विज्ञहरु यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।

‘साउथ अफ्रिकन मेडिकल असोसिएसन’ की प्रमुख डाक्टर एन्जेलिक कोएटजी यो भेरियेन्टको उत्पत्ति पत्ता लगाउने पहिलो व्यक्ति हुन् ।

र यसमा उनले पनि आफ्ना बिरामीहरुमा सामान्यतया डेल्टाबाट संक्रमित हुँदाको भन्दा फरक लक्षणहरु रहेको महसुस गरेकी थिइन् ।

उनले एएफपीसँग भनेकी छन्, “यसमा उनीहरु अत्याधिक थकानका कारण अस्पतालसम्म आउनु परेको थियो । साथै अधिकांश बिरामीमा मांसपेसी दुख्ने, घाँटी चिलाउने र सुख्खा खोकी बढी देखियो । ”

दक्षिण अफ्रिकाको सल्लाहकार समितिमा आबद्ध डाक्टर कोएट्जीले ‘ओमिक्रोन’ संक्रमण डेल्टा भेरियेन्टसँग क्लिनिकल रुपमा मेल नखाने भनेर स्वास्थ्यकर्मीहरुलाई नोभेम्बर १८ मै सचेत गराएकी थिइन् ।

त्यसबेलाका १८ कोभिड बिरामीले तुलनात्मक रुपमा फरक लक्षण देखाएका थिए ।

उनले रोएटर्ससँग भनेकी छन्, “त्यो चरणमा ती लक्षणहरु फरक तर साधारण भाइरल संक्रमणकै थिए । र हामीले विगत आठ दश हप्तादेखि कोभिड १९ बारे केही नयाँ खोज नगरेको हुँदा यसबारे परीक्षण गरिहाल्ने निर्णय लियौँ ।

हामीले तेस्रो लहरका बेलामा डेल्टा भेरियेन्टबाट संक्रमित धेरै बिरामी देख्यौँ । तर अहिलेका संक्रमित क्लिनिकल रुपमा डेल्टा जस्तो पटक्कै थिएनन् । यसमा सबै लक्षणहरु एकदमै हलुका किसिमको थियो । कसैलाई पनि आइसीयुमा भर्ना गर्नुपर्ने खालको थिएन । ”

उनका अनुसार डेल्टा जसरी मानिसहरुमा स्वाद या गन्ध थाहा नपाउने पनि भइरहेको थिएन । त्यस्तै अक्सिजनको स्तरमा ठूलो गिरावट पनि देखिएन ।

र यी सबै लक्षण नयाँ भेरियेन्टसँगै जोडिन पुग्यो । त्यसैले प्रायः बिरामीहरु घरमै बसेर ठीक हुन योग्य ठहरिए ।

साथै यसमा उनले उपचार गरेकाहरुमा ओमिक्रोनको लक्षण भएका ५० प्रतिशत बिरामीले कोभिड खोप लगाएका थिएनन् ।

यसअघि दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका डाक्टर उन्बेन पिलले बिरामीहरुले रिपोर्ट गरे अनुसार ओमिक्रोनका लक्षणहरु सूचीकृत गराएका हुन् ।

उनले भनेका छन्, “हामीले अधिकतम बिरामीमा सुख्खा खोकी, ज्वरो, राति पसिना आउने र शरीर एकदमै धेरे दुख्ने जस्ता लक्षण देख्यौँ । र खोप लगाएका बिरामीहरु यसमा तुलनात्मक रुपमा राम्रो अवस्थामा हुने गरेका छन् । ”

अर्का भाइरसविद् सलिम अब्दुलले चाहिँ यो भेरियेन्ट एकदम छिटो फैलन सक्ने हुँदा बिरामीहरु छिटै बढ्ने बताए । यसको प्रमाण आफूहरुले देख्न थालिसकेको पनि उनले बताए ।

दिल्लीको स्वास्थ्य निकायहरुले पनि एक पत्रिका दैनिकसँगको रिपोर्टमा नयाँ भेरियेन्ट देखा परिरहेको क्षेत्रमा अस्पताल भर्ना हुनेको दर एकदम कम रहेको बताएका थिए । त्यस्तै विश्वव्यापी रुपमा यो भेरियेन्टका कारण मृत्यु भएको पनि कुनै रेकर्ड छैन ।

अहिलेका लागि यसले एकदम हलुका असर गर्ने, धेरै थकान पैदा गर्ने र घाँटीमा समस्या ल्याउने जस्ता लक्षण देखाइरहेको बताइएको छ ।एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्