ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको सुझाव
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘नयाँ भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।
‘यस क्षेत्रका अधिकांस देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ।
यसले अझैपनि संक्रमणको जो’खिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ,’ डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन् ।
विज्ञप्तीमा दक्षिण–पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ।
यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।
‘जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्ष’ति कम गर्न मद्दत पुग्छ।
कोभिड–१९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ,’ क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तीमा भनेकी छन् ।
उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन्।
‘आजको दिनसम्ममा यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका छन् ।
त्यसैले ठूलो संख्या अहिले पनि संक्रमणको जोखिममा नै छन्,’ उनले भनेकी छन् ।



