Logo

जनगणना, थर लेख्ने प्रचलन, राई जाति र तपाईँ–हाम्रो अस्तित्वको सवाल !


-निनाम कुलुङ ‘मंगले’
यही २५ कात्तिकदेखि ९ मंसिरसम्म १२ औं राष्ट्रिय जनगणना हुँदैछ । सो जनगणनामा सही तथ्यांक आओस् भन्नका लागि नेपालका सबै जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, वर्गका अगुवाहरु आ–आफनो जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, क्षेत्रमा खटी रहेका छन् । तर, यसपटकको जनगणनाको तथ्यांक विगतभन्दा बढी नै ‘गाँजेमाजे !’ आउने हो कि ? भनी अहिलेदेखि नै आशंका गरिदैछ ।

किनभने, यस पटकको राष्ट्रिय जनगणनामा खटिने अधिकांश जनगणक र सुपरभाइजरहरु योग्यता, सक्षम र अनुभवीभन्दा पनि सरकारी कर्मचारी (निजामती) हरुकै नातागोता र आफन्तहरु ध्ेरै (लगभग ७० प्रतिशत) छानिएको भन्ने छ । जस्तो यहाँ एक उदाहरण इलाम जिल्लाको ‘रोङ गाउँपालिकाको नै लिऊँ । सो गाउँ पालिकाको एक वडा’मा निजामती कर्मचारी (गृह मन्त्रालयमा कार्यरत) राई जातका बान्तावा थरका शाखा अधिकृतकै सहोदर भाइ जनगणकमा छानिएका छन् । जो जनगणकमा परेका छन्, उनै मान्छे सुपरभाइजरमा पनि परेका छन् अरे ! यदि यो कुरो सही हो भने, एकै व्यक्ति जनगणक पनि हुन पाउने, सुपरभाइजर पनि हुन पाउने व्यवस्था छ त, ऐन, कानुन, नियम, विनियम, नियमावली…मा ? समय छँदै प्रभावकारी ढंगले प्रश्न उठाउनुपर्ने देखिन्छ ।

हुन राई जातिका सम्बन्धमा भन्नै पर्दा विगतमा जानेर वा नजानेर अथवा राई भन्दा, लेख्दा आफू पनि तालुकदार–जिम्मावाल राई जस्तै ‘ठूलो राई !’ होइन्छ भनेर हामीले राई भन्दै, लेख्दै आएको साँचो हो । तर, राई के हो ? भन्ने बारेमा बुभ्mदै जाँदा, सोधखोज गर्दै जाँदा, पढ्दै जाँदा, इतिहास हेर्दा पढ्दा साथै, हाम्रा पितापूर्खाहरुले मुखैले भन्दै आएको तथ्य कुरोहरु र, जिम्मावाल–तालुकदारी चलाएका मान्छेहरु अनि तिनका जेठो छोरोहरु जिउँदै रहेको अवस्था एवम् उनीहरुले भनेअनुसार, देखेअनुसार राई जात वा जाति होइन÷थिएन । त्यसैले अब हामीले राई नलेखेर आफू जे हौं, त्यही जस्तै आठपहरिया, कुलुङ, ‘चाम्लिङ, थुलुङ, बान्तावा, मेवाहाङ, बाहिङ, याम्फु आदि लेखौं, लेखाऊँ, हाम्रो असली जातीय स्वपहिचानले चिनिऔं भनेको हो ।

फेरि अर्को पक्षले भने झै साँच्चै (राई जात लेखों भन्नेहरु) राई जात हो अनि बान्तावा, दुमी, कोयु, पुमा, वाम्बुले (हाम्रोतिर चौरासे राई ! भन्छन्), कुलुङ आदिचाहिँ थर हो भने बान्तावा–बान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच, कुलुङ–कुलुङबीच कसरी विवाह भई रहेको छ ? राई जात र बान्तावा, पुमा, कोयु दुमी आदि थर मात्रै हो भने त्यसरी एकै थरमा (बान्तावा–बान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच, कुलुङ–कुलुङबीच) विवाह गर्दा उनीहरुलाई नेपालको प्रचलित कानुनअनुसार हाडनाता करणीको मुद्धा पो लाग्नुपर्ने होइन र ? कि राई भन्नेहरु मुसलमान समूह जस्तै हुन् ? जो दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने जात समूहमा पर्छन् । यस बारेमा ‘राई जातै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन तीनपुस्तमा समेत राई छ !’ भन्ने पक्षले अतर–ह्रदयदेखि नै आत्मा साक्षी राखेर र, ‘अन्टसन्ट नबोलेर “क्लियर–कट” भाषामा बोल्नुपर्ने, प्रस्ट्याउनुपर्ने’ देखिन्छ ।

त्यसैले यही २५ कात्तिकदेखि ९ मंसिरसम्म हुने जनगाणनामा हामी किरातीहरु जो जानेर वा नजानेर राईकरणमा पर्यौं, हामीले जातिको महलमा ‘राई !‘ वा कुलुङ राई, बान्तावा राई, नाछिरिङ राई, याम्फु राई, बाहिङ राई, मेवाहाङ, राई साम्पाङ राई होइन, याम्फु, कुलुङ, चाम्लिङ नाछिरिङ आठपहरिया, जेरो/जेरोङ, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, आदि लेखौं, लेखाऊँ । सकिन्छ भने, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदिले जस्तैं आ–आप्mनो थर पनि (बीचमा) नामपछि लेखौं, लेखाऊँ । जस्तै म कुलुङ जातिको लोवात्ती ‘पाछा’ (थर) को हुँ । त्यसैले मैले ‘निनाम लोवात्ती कुलुङ’ लेख्दा राम्रो हुन्छ । किनभने यसो गर्दा मेरो ‘पाछा’ (थर) पनि आउँछ । अझ बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदिले त विगतदेखि नै जनगणनामा मात्रै नभएर नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाणपत्र, पेन्सनपट्टा, वृद्धभत्ता कार्ड, विद्यार्थी परिचयपत्र आदिमा बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदि नलेखेर पोखरेल, दाहाल, गुरागाईँ, बराल, बास्तोला, आचार्य, पौडेल, थापा, बस्नेत, खड्का, कटुवाल, कार्की, शाही, चन्द, मल्ल, गिरी, पुरी, भारती, वन आदि लेख्दै आएका छन् । त्यति मात्रै होइन, बाहुन क्षेत्रीहरुले त पोखरेलभित्रको ‘पानी पोखरेल’ र ‘दूध पोखरेल, कार्कीभित्रको मुडुला कार्की, सुतार कार्की, खड्काभित्रको लकाई खड्का, बस्नेतभित्रको खप्तरी बस्नेत आदि समेत लेख्न र चिनाउन थालेका छन् । तर, हामी किरातीहरुचाहिँ विगतमा हाम्रा पितापूर्खाले शासकहरुलाई ‘माटो–मुरी’ बुझाएर पाएको (एक–आपस्तमा हानथाप गर्दै !) राई पदवी/पगरीलाई नै जात मान्नेभन्ने, लेख्ने र, आफनो वास्तविक जात आठपहरिया, कुलुङ, चाम्लिङ, जेरो/जेरोङ, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु आदिचाहिँ ‘थर’ हो भन्ने मूर्खता प्रदर्शन गर्दै छौं । हैट, आजको २१ औं जमाना भनिएको वेलामा पनि हाम्रो बुझाई र चेतनाको स्तर !? के नै पो लेखौं ? हामी आफैलाई लाज लाग्ने कुरो …!?

जनगणनामा ‘राई !’ नै लेखेमा के हुन्छ ?
हो, जनगणनामा राई नै लेखेमा के हुन्छ त ? पहिलो कुरो राई जात वा जाति नभएकोले गर्दा राई नलेखाऊँ, नलेखौं भनेको हो । अर्को भनेको आफनो जातीय स्वपहचिान र अस्तित्व नाछिरिङ, आठपहरिया, कुलुङ, चाम्लिङ, जेरो/जेरोङ, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु आदि हुँदाहुँदै राई लेखेमा जसरी प्रदेश नम्बर एकमा बान्तावा भाषाका वक्ता संख्या १ लाख ३२ हजार चानचुन हुँदाहुँदै पनि प्रदेश नम्बर एकमा त्यहाँको कामकाजी भाषामा सिफारिस हुन सकेन, भएन । हामी अरु जो किरातीहरु छौं, हाम्रो अवस्था पनि त्यस्तै हुन्छ । प्रदेश नम्बर एकमा बान्तावा भाषाले किन प्रदेशको कामकाजी भाषामा सिफारिस पाएन, भएन भन्दा बान्तावा भाषा १ लाख ३२ हजार चानचुन हुँदाहुँदै पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा बान्तावा जातिको जनसंख्या भने ४ हजार ६०४ जना मात्रै आए । फलतः बाँकी एक लाख २६ हजार चानचुन बान्तावा भाषा कसले बोल्छ, कहाँ बोलिन्छ ? अत्तोपत्तो भएन । त्यसैले बान्तावा भाषाले सिफारिस पाएन ।

हामीले यो घटनाबाट पाठ नसिकेर अझै पनि राईको जनसंख्या र भीड देखाएर राई जातिको नाममा राजनीति गर्ने अवसर लिने र ‘माना–चामल खाने !’ बिचौलियाहरुकै भर परेर फेरि पनि राई लेखेमा बान्तावा कामरेडहरुकै हालत व्यहोर्नुपर्ने छ । त्यसपछि फेरि हामीले अर्को १० वर्ष कुर्नुपर्ने छ ।तर, पनि कसैलाई राईले नै चिनियो, नागरिकता, जग्गाधनी पूर्जा, पेनसन्पट्टा, स्कूल पढेको सर्टिफिकेट, वृद्धभत्ता कार्ड, विद्यार्थी कार्ड आदिमा पनि राई नै छ, त्यसैले यो जनगणनामा पनि राई नै लेख्छु भन्ने लाग्छ भने त्यसमा हाम्रो बार–बन्देज र जबरजस्ती रहने छैन । तर, अर्को पक्षले पनि हामीलाई बार–बन्देज नलगाउन् र जबरजस्ती राई नै लेख ! भन्ने काम नगरुन्, विनम्र अनुरोध छ । कुनै पनि व्यक्ति र समुदायको ‘म वा हामी को हौं ?’ भनी स्वनिर्णय गर्न पाउने आत्मनिर्णयको अधिकार र मानवअधकिार पनि यही नै हो । नेपालको पछिल्लो संविधानले समेत मौलिक हकको ग्यारेन्टी गरेको छ ।

त्यसो त राई भन्नेहरुको आफनो छुट्टै मातृभाषा नभएकैले/नभेटेकैले गर्दा संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता गरेको आफनो संस्था, राई यायोक्खा नामक एनजिओ, समाजकल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ र, जिल्ला प्रशासन कार्यलय काजिप्रका÷रजिस्टर्ड नम्बर–३२८/०४९/०५० को नामसमेत बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राख्नु परेको सबै सामू विदितै छ । त्यस्तै राईले नाच्ने गरेको नाच (चण्डी नाच) को नाम पनि चाम्लिङ जातिको भाषामा ‘साकेला’ राखिएको, भनी यो पंक्तिकारलाई बेलायती सेनाका एकजना भूपू क्याप्टेन (जो ललितपुर जिल्लाको नखिपोट एरियामा बस्नु हुन्छ) ले भन्नु भएको हो । उहाँका अनुसार ‘यायोक्खा’ भनेर बान्तावा जातिको नाममा राई भन्नेहरुको संस्थाको नाम राखेपछि चाम्लिङहरुले पनि ‘चण्डी नाच’को नामचाहिँ चाम्लिङ जातिको भाषामा ‘साकेला’ राख्ने प्रस्ताव गरियो ।

तर, हामी कुलुङहरुका हकमा कदापि त्यस्तो होइन । किनभने, कुलुङ जातिको अरु जातिको भन्दा छुट्टै मातृभाषा, ऐतिहासिक भूमि (‘महाकुलुङ भूमि/भू–क्षेत्र’), वंश–परम्परा जस्तै अरु जातजाति वा समुदायले हामीलाई “कुलुङ” भनेर चिन्नुअघि हाम्रा २३/२४ जना पूर्खाहरु होहोरेम, तूम्नो, नीनाम–रीदूम, खप आदि पूर्खाहरु छन् । त्यसभित्र पनि प्रमुख चार प्रमुख पूर्खाहरु छन् । जस्तै छेम्सी, ताम्सी, खप्दूलू (पिल्मो/पेल्माङ), राताप्खू (सोत्तो सोताङ) अनि मात्रै हामी “कूलू” इथ्नोनिम र “कुलुङ” एक्सोनिमले चिनिन थालेका हौं । ऐतिहासिक भूमि, इतिहास, मौलिक भेषभुषा, गरगहना, भेदभावरहित समाज, हामी भन्ने भावना, परम्परागत कानुन, मूल्य–मान्यता, अरुको भन्दा जीवनशैली, वंश–वृक्ष, अरको भन्दा फरक संस्कार, संस्कृति, रहनसहन, चाडबाड, आफनै समुदायभित्र नाता–कुटुम्ब (जस्तो कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर र उपथरहरु रहेको छ । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्छ ।) चल्ने, विवाह गर्ने प्रचलन आदि रहेको छ ।

अझ प्रस्टसँग भन्नु पर्दा जनगणना भनेको फगत तपाईँ–हाम्रो टाउका गन्ने कार्य मात्रै होइन, तपाईँ–हाम्रो विविध जानकारीहरु सरकारी तथ्यांकमा प्रविष्टि गराउने माध्यम पनि हो । जनगणनाको तथ्यांकमा आएको तपाईँ–हामीले बोल्ने मातृभाषा, धर्म, वृद्घ–वृद्घा, वयस्क,

युवा, केटाकेटीको संख्या, तपाईँ–हाम्रो आर्थिक अवस्था, शैक्षिक अवस्था, रोजगारीको अवस्था, स्वास्थ्य सेवाको अवस्थालगायत सामाजिक अवस्था आदिका बारेमा जे जस्तो तथ्यांक आउँछ, त्यहीअनुसार राज्यले तपाईँ–हाम्रो लागि नीति बनाउने र योजना तर्जुमा गर्ने गर्छ । त्यसैले तपाईँ–हाम्रो वास्तविक अवस्था जानकारी गराउने एउटा उत्तम माध्यम पनि हो, ‘राष्ट्रिय जनगणना ।’ त्यसैले त विश्वका प्रायः सबै देशले हरेक १०–१० वर्षमा जनगणना गर्ने गरेका छन् ।

लेखकको नीजि बिचार हो, थप केही जानकारी चाहिएः ९८४९८५९९७, ९८६९५२४०२५, E-mail : ninmakirat123@gmail.com

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्