नेपाली मूलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्ने भएका छन् ।

उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ ।

फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् ।

बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् ।

उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे ।

‘मेरो इच्छा थियो, छोरा अभिनयमा आओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ’, डेनीले भने ।

राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको छ ।

निलेश सहायको निर्देशन रहेको फिल्म एक्सन विधामा रहेर तयार गरिएको छ ।

फिल्मको एक्सनका लागि विदेशी फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले स्टन्ट डिजाइन गरेका हुन् ।

निर्देशक निलेशले ‘स्क्वाड’ भारतको एक्सन फिल्ममा कोसेढुंगा हुने पनि दाबी गरेका छन् ।