फेसबुकको नाम अबबाट मेटा रहने, र यस्का थाहा पाउनु पर्ने चार तथ्यहरु
सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार यस अघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन्।
फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ।
प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ।
अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी क’डा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन्।
यो कुरा कम्पनीको नाम परिवर्तन गर्नेमा मात्र सीमित नभई भविष्यमा ‘मेटाभर्स’ मा जानका लागि गरिएको जुकरबर्गको भनाइ छ।
मेटाभर्स शब्द उपन्यासकार निल स्टेफेन्सनले बनाएका हुन्। सन् १९८२ प्रकाशित उनको उपन्यास ‘स्नो क्र्यास’मा पहिलो पटक यो शब्द प्रयोग गरिएको थियो।
यो मेटा र युनिभर्स जोडेर बनाइएको शब्द हो। द गार्डियनका अनसार मेटाभर्स एउटा यस्तो दुनियाँ हो जहाँ भौतिक र डिजिटल संसार एक हुन्छन्।
मानिसहरू इन्टरनेटका माध्यमबाट काम गर्न सक्छन्, मिटिङ गर्न सक्छन्, कन्सर्टमा जान सक्छन् र किन्न लागेको नयाँ लुगा पनि आफूलाई फिट भएनभएको हेर्न सक्छन्।
मेटाभर्स बनाउनका लागि फेसबुकले यसअघि नै युरोपमा १० हजार नयाँ कर्मचारी राख्ने घोषणा गरेको थियो।
यि हुन यस्का जान्न पर्ने चार तथ्यहरु-
१) हामीले चलाउँदै आएको फेसबुकको नाम पनि परिवर्तन हुन्छ?
हुँदैन। जुकरबर्गले कार्यक्रममा भनेका छन्, ‘हाम्रो एप्स र ब्रान्ड परिवर्तन हुनेछैनन्।’ तर कम्पनीको नाम भने फेसबुकबाट मेटा हुनेछ।
यो कम्पनीको स्वामित्वमा फेसबुक, मेसेन्जर, ह्वाटसएप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरु छन्। ती सबैको नाम यथावत रहनेछ।
२) के चाहिँ परिवर्तन हुन्छ त?
कम्पनीको नाम। पहिले कम्पनीको नाम फेसबुक थियो भने अब ‘मेटा’ रहनेछ। सेयर बजारमा कम्पनीको नाम पनि फेसबुकको FB बाट परिवर्तन भएर MVRS हुनेछ डिसेम्बर १ देखि। यसका लागि मेटा डट कम पनि जुकरबर्गले लिइसकेका छन्।
३) किन गरियो परिवर्तन?
कनेक्ट इभेन्टमा जुकरबर्गले बताए अनुसार फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गरेन।
कम्पनीको नाम एउटा प्रडक्टमा मात्र जोडियो। त्यही भएर नाम परिवर्तन गर्नुपरेको हो।
फेसबुकले सामाजिक सञ्जालका अतिरिक्त अरु क्षेत्रमा पनि काम गर्ने महत्त्वाकांक्षका बीच यो नाम परिवर्तन गरेको हो।
अहिले फेसबुक मेटाभर्स प्रति बढी आकर्षित भएको छ। त्यही भएर उसले कम्पनीको नाम समेत यसैसित मिल्ने गरी मेटा राखेको छ।
उनले कार्यक्रममा भने पनि- अब हाम्रो पहिलो प्राथमिकता फेसबुक हैन, मेटाभर्स हुनेछ।
४) के हो मेटाभर्स ?
मेटाभर्सलाई धेरैले इन्टरनेटको भविष्य हुने बताएका छन्। यो भर्चुअल रियालिटीको विकसित रुप हो।
फेसबुकले भर्चुअल रियालिटी भेटघाट एप वर्कप्लेस र सामाजिक भेटघाट स्थल होराइजन्सलाई परीक्षण गरिरहेको छ जसमा व्यक्तिको भर्चुअल रूप प्रयोग हुन्छ।
उदाहरणका लागि मेटाभर्स प्रविधिमा तपाईँ अनलाइनमा लुगा किनमेल गर्न भन्दा पहिले त्यो लुगाको डिजिटल प्रारूपलाई लगाएर हेर्न सक्नुहुन्छ वा कार किन्नुभन्दा पहिले त्यो कारलाई भर्चुअल विश्वमा चलाएर हेर्न सक्नुहुन्छ।एजेन्सी



