Logo

दर्शकको रुचि बदलियो तर निर्देशक तथा निर्माताको मनोविज्ञान बदलिएन


दसैँमा रिलिज भएको नेपाली चलचित्रले दर्शक तान्न सकेन । लामो समयपछि रिलिज भएको सिनेमाले नेपाली चलचित्र क्षेत्रलाई नै चलायमान बनाउला भन्ने अपेक्षाविपरीत चलचित्रले दर्शक पाएन ।

शोभित बस्नेतले निर्देशन गरेको ‘डाँडाको बरपीपल’मा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय छ ।

चलचित्रको रिलिजअघि उनीहरूले ‘फन्डा’ निकाले, महानायक को हुन् भन्ने । शोभितले पहिला महानायक राजेश हमाल होइनन् भने ।

पछि उनैले माफी माग्दै हमाल नै महानायकको भएको बताउँदै उनको तस्बिर राखेर कार्यक्रम गरे ।

यो विवादले चलचित्रको प्रचार होला र दर्शक हलसम्म आउलान् भन्ने निर्माण पक्षको अपेक्षा थियो । तर, त्यो पूरा भएन ।

अंग्रेजी चलचित्रमा दर्शक भरिभराउ हुँदा ‘डाडाको बरपीपल’को शोमा भने मुस्किलले ८/१० जना दर्शक मात्रै देखिए ।

“नेपाली चलचित्रमा दर्शक आउनु भएन । अंग्रेजी चलचित्रमा दर्शकको भिड लाग्यो ।

७० प्रतिशत अकुपेन्सीदेखि हाउसफुल हुँदा नेपाली चलचित्रमा दर्शक आउनु भएन,” क्यूएफएक्स चेनका व्यवस्थापक रोशन अडिगा भन्छन्, “नेपाली चलचित्र क्षेत्र चलायमान हुन्छ भन्ने अपेक्षा र आग्रहसहित नेपाली चलचित्र रिलिज गरिएको थियो ।

तर, प्रत्येक शोमा ८/१० जनाबाहेक नेपाली चलचित्र हेर्न दर्शक आउनु भएन ।”

कोरोनाको प्रभाव हो ?

कोरोनाको प्रभाव भने हलमा देखिएको छैन । ‘फास्ट एन्ड फ्युरियस–९’ र ‘नो टाइम टु डाइ’मा दर्शकको भिड लाग्यो ।

अडिगाका अनुसार मल्टिप्लेक्समा ‘फास्ट एन्ड फ्युरियस–९’ ७० प्रतिशत अकुपेन्सीमा चल्यो ।

‘नो टाइम टु डाइ’मा त विकेन्डमा फुल अकुपेन्सीमा चलचित्र चल्यो । अहिले पनि ७० प्रतिशत अकुपेन्सीमा चलचित्र चलिरहेको छ । यो भनेको सामान्य अवस्थासरह हो ।

अंग्रेजी चलचित्रमा दर्शकको उपस्थितिले कोरोनाको प्रभाव हलमा नेदेखिएको पुष्टि गरेको रोशन बताउँछन् ।

“अरू चलचित्रमा दर्शकको उपस्थिति जसरी देखियो, त्यसले कोरोनासँग दर्शक डराएका छैनन् भन्ने हाम्रो बुझाइ छ,” उनी भन्छन्, “यसको अर्थ राम्रो चलचित्र आयो भने नेपाली पनि चल्छ भन्ने हो ।

सिनेमा हल, सपिङ मल तथा अन्य ठूला कम्प्लेक्सहरूमा हेर्ने हो भने मान्छेको ठूलो भिड छ । त्यसैले कोरोनाको प्रभावले नै नेपाली चलचित्र चलेन भन्न मिल्दैन ।”

‘चलचित्र चन्दैन भन्ने थाहा थियो’

एक मल्टिप्लेक्स सञ्चालक चलचित्र राम्रो नभएकै कारण नचलेको बताउँछन् ।

आफूहरूले नेपाली चलचित्र क्षेत्र चलायमान होस् भन्ने उद्देश्यले मात्रै शो दिएको उनको दाबी छ ।

“यो चलचित्र चल्दैन भन्ने हामीलाई पहिला नै थाहा थियो । संघको आग्रहमा हामीले शो दिएका हौं,” ती सञ्चालक भन्छन्, “निर्माण भएका सबै चलचित्र रिलिज हुँदैनन् । सामान्य समय हुन्थ्यो भने यो चलचित्र मल्टिप्लेक्समा रिलिज नै हुँदैन थियो ।”

मल्टिप्लेक्समा मात्रै होइन, सिंगल थिएटरमा पनि ‘डाँडाको बरपीपल’मा दर्शक देखिएनन् ।

यो चलचित्रबाट सिंगल थिएटर सञ्चालकले पनि अपेक्षा गरेका थिएनन् । वितरक तथा हल सञ्चालक गोपालकाजी कायस्थ अब सिनेमा रिलिज भएको छ भन्दैमा दर्शक हल नजाने बताउँछन् ।

दर्शकको रुचि बदलियो तर…

“बाहुबली हेर्ने दर्शक अहिले जस्तो पायो त्यस्तो चलचित्र हेर्नु हुन्न । अहिले त कथावस्तु मात्रै होइन, कलाकार पनि छनोट गरेर हेर्ने भइसक्नुभएको छ दर्शक,” गोपाल भन्छन्, “कस्तो चलचित्र चल्छ भन्ने अब करिब–करिब हामीलाई पनि थाहा हुन्छ ।

बाहिर भन्नु नभन्नु अलग पाटो हो । दर्शक बाठो भइसक्नुभएको छ । राम्रो चलचित्र मात्रै हेर्नुहुन्छ ।”

परिवर्तित समय र दर्शकको चाहना अनुसारको विषय र प्रस्तुतिबिना अब चलचित्र नचल्ने उनको भनाइ छ ।

कोरोनाको त्रा’स नै चलचित्र नचल्नुको कारण हो भनेर उम्किन खोजे पनि यथार्थ चलचित्रको विषय, प्रस्तुति र दर्शकको बदलिँदो रुचि भएको उनी बताउँछन् ।

तर, निर्देशक तथा निर्माताको मनोविज्ञान नबदलिएको गोपाल बताउँछन् ।

दर्शकले रुचाउने चलचित्र प्रदर्शन भएको खण्डमा सहज रूपमा सिनेमा चल्नेमा उनी ढुक्क छन् । अब कोरोनाको त्रास सिनेमा हलमा नरहेकोमा उनी विश्वस्त छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्