कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन
चीनको वुहान सहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलोपटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै स्पष्ट हुनसकेको छैन ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउन एउटा नयाँ कार्यदल बनाएको छ ।
डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ ।
डब्ल्यूएचओले सो कार्यदलको काम कोरोनाभाइरस उत्पत्तिको स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
आपत्कालीन मामिलासम्बन्धी डब्ल्यूएचओका निर्देशक माइकल रायनले नयाँ अनुसन्धान टोलीको काम कोरोनाभाइरसको उत्पत्ति स्थानबारे बुझ्ने अन्तिम मौका हुन सक्ने बताएका हुन् ।
डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दु’र्घटनावश प्रयोगशालाबाट ‘लिक’ भयो (चुहियो) भन्नेबारे अनुसन्धान गर्नेछ ।
चीनले भने प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ ।
गएको फेब्रुअरीमा पनि कोभिडको उत्पत्ति पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको एउटा अनुसन्धान टोली चीन गएको थियो र कोरोनाभाइरस सम्भवतः चमेरोबाट मानिसमा सरेको निष्कर्ष निकालेको थियो ।
तर, त्यसका लागि थप काम गर्नुपर्ने औँल्याएको थियो । पछि डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गहब्रयससले तथ्यांकको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताएका थिए ।
प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको टोलीमा संलग्न ६ जना विज्ञ पनि समावेश छन् ।
यसका साथै टोलीले अतिजो’खिमयुक्त अरू ‘प्याथोजिन्स’को उत्पत्तिको बारेमा पनि अध्ययन गर्नेछ ।
भविष्यमा म’हामारी फैलिनबाट रोक्नका लागि नयाँ प्याथोजिन्सहरू कहाँबाट आउँछन् भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण हुने महानिर्देशक टेड्रोसको भनाइ छ ।
साइन्स जर्नलमा एउटा संयुक्त सम्पादकीय लेख्दै महानिर्देशक टेड्रोस र अरू अधिकारीले कोरोनाभाइरसबारे प्रयोगशाला दु’र्घटनाको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
तर, जेनेभास्थित राष्ट्रसंघका लागि चिनियाँ राजदूत चेन सुले अनुसन्धान टोलीको कामलाई राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएका छन् ।
अरू ठाउँमा पनि टोलीहरू पठाउनुपर्ने बेला भएको उनको भनाइ छ ।एजेन्सी



