बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले लियोनल मेसी क्लबमै बस्ने र ‘फ्री’मा खेल्ने आशा गरेको बताएका छन् ।

३४ वर्षीय मेसी गत अगस्टमा बार्सिलोना छाडेर ‘फ्री ट्रान्सफर’मा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए ।

‘ला लिगा’ले क्लबलाई खेलाडीको तलबमा सीमा तोकेपछि बार्सिलोनाले मेसीसँग सम्झैता नवीकरण गर्न नसकेको जनाउँदै आएको छ । क्लबले सम्झौता नवीकरण गर्न नसक्ने भनेपछि मेसी पीएसजी लागेका हुन् ।

अर्जेन्टिनाका मेसीले बार्सिलोनाबाट १० लिग उपाधि जितिसकेका छन् । मेसी बार्सिलोनामा विगतको भन्दा ५० प्रतिशत तलब कटौती गरेर बस्न राजी भएका थिए ।

तर, त्यसका बाबजुद पनि बार्सिलोनाले उनलाई क्लबमा राख्न नसक्ने भनेपछि मेसीले क्याटलान क्लब छाडेका हुन् ।

“दुवै पक्षका लागि त्यो निराशजनक क्षण थियो,” बार्सिलोनाका अध्यक्ष लापोर्टाले भने, “मलाई आशा थियो कि मेसीले यू–टर्न गर्नेछन् र भन्नेछन्– म तलब नलिई खेल्नेछु ।

मैले त्यो सोचेको थिएँ । त्यो ला लिगाले पनि स्वीकार गर्थ्यो । तर, हामीले मेसी जत्तिको खेलाडीलाई त्यस्तो प्रस्ताव नै गर्न सकेनौँ ।”

लापोर्टाले मेसीसँगको सम्झैता नवीकरण गरेको भए क्लब ‘जोखिम’ पर्ने कुरा पुनः दोहर्याए ।

क्लब छाड्ने घोषणा गर्नका लागि गरिएको पत्रकार सम्मेलनमा मेसी भक्कानिएका थिए ।

मेसीले अघिल्लो सिजन आफूले क्लब छाड्न चाहेपनि यस सिजन क्लब छाड्ने कुनै योजना नभएको बताएका थिए ।

अचानक परिस्थिति बद्लिँदा आफूलाई विश्वास गर्न गाह्रो भएको मेसीको भनाइ थियो ।

अध्यक्ष लापोर्टाले प्रशिक्षक रोनाल्ड कोम्यानको बचाउ गरेका छन् । पछिल्लो समय खराब लयबाट गुज्रिएको बार्सिलोना अहिले लिगको नवौँ स्थानमा छ ।

जसका कारण अहिले कोम्यानको चौतर्फी आलोचना भएको छ । तर, अध्यक्ष लापोर्टाले प्रशिक्षक कोम्यानको बचाउ गरे ।

“मैले उनलाई टिमप्रति विश्वास छ, भनेर सोधेको थिएँ । उनले टिमप्रति विश्वास भएको र घाइते खेलाडीले चाँडै पुनरागमन गरोस् भन्ने चाहेको बताएका छन् ।

उनी आफूलाई निरन्तरता दिन चाहन्छन् र यही टिमलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्,” लापोर्टाले प्रशिक्षक कोम्यानबारे भने ।एजेन्सी