साफ च्याम्पियनसिप २०२१ अन्तर्गत विहीबार भएको खेलमा भारतले श्रीलंकासँग बराबरी खेल्नु तथा  माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपालको लागि पहिलो पटक साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनल पुग्ने समीकरण अझ सहज भएको छ ।

विहीबार दाबेदार भारतलाई श्रीलंकाले बराबरीमा रोक्नु र माल्दिभ्सले प्रतियोगितामा अपराजित रहेको बंगलादेशलाई २-० ले प’राजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड कायम गर्न सफल भएको छ ।

अंकविहिन माल्दिभ्सले अंक तालिकामा खाता खोल्दै भारतलाई समेत उछिनेको छ ।

हाल अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बंगलादेशले ३ खेल खेल्दै ४ अंक जोडेको छ ।

माल्दिभ्स पहिलो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोलीले २ खेलमा ३ अंक जोडेको छ ।

यस्तै भारतले आफ्नो दुवै खेल बराबरी गर्दै २ खेलमा २ अंक जोडेको छ । श्रीलंका ३ खेलमा १ अंकसाथ अंक तालिकाको पुछारमा छ ।

श्रीलंकाको भने फाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

नेपालले अब लिग चरणका बाँकी दुई मध्ये एक खेल जिते शीर्षस्थानमा रहँदै फाइनल पुग्ने पक्का हुनेछ ।

बाँकी रहेका दुवै खेलमा बराबरी मात्र खेले पनि नेपाल फाइनल पुग्ने पक्का छ ।

नेपाललाई बाँकी रहेका दुवै खेल मध्ये एक खेल मात्र बराबरी गरे वा दुवै खेल प’राजित हुँदा पनि फाइनलमा पुग्ने अंक गणितीय सम्भावना छ।

नेपालले अब प्रतियोगिता अन्तर्गत आइतबार भारत तथा बुधबार बंगलादेशको सामना गर्नेछ । लिगको अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध खेल्ने छ।

अर्को खेलमा नेपालले भारतविरुद्ध बराबरी खेलेर माल्दिभ्स र श्रीलंकाबीच खेल पनि बराबरी भए, नेपाल फाइनल पुग्ने लगभग पक्का हुनेछ ।

त्यस्तै, श्रीलंकाले माल्दिभ्सलाई हराएर नेपालले भारतसँग बराबरी खेले नेपाल फाइनल पुग्नेछ ।

नेपालले भारतसँग पराजय बेहोरेको अवस्थामा अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे पुग्नेछ । भारतले भने अब फाइनल पुग्न निकै कसरत गर्नुपर्नेछ ।

यो स्थितिमा साफ च्याम्पियनसिपको करिब तीन दशक लामो इतिहासमा पहिलो पटक फाइनलमा आफ्नो स्थान पक्का गर्ने सहज बाटोमा छ।

नेपालको फाइनल यात्रा अब आफ्नो प्रदर्शनमा मात्र नभई बाँकी टोलीको खेल नतिजाले समेत निर्धारण गर्ने छ।