खोपको कुनै पनि असर शरीरमा नदेखिएमा खोपले काम गर्दैन हो ?
सामाजिक संजालमा कोरोना भाइरस साथै यो विरुद्ध बनेका खोपबारे जानकारी नहुँदा यसबारे अफवाह र भ्रम फैलिरहेको पाएपछि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रमलाई चिर्ने अभियान संचालन गरेको छ।
सामाजिक संजाल फेसबुक तथा ट्विटरमा मन्त्रालयले त्यस्ता भ्रम चिर्न सन्देश र जानकारीमूलक सूचनाहरु पोस्ट गर्न थालेको छ।
धेरैले खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन हो ? भन्ने जिज्ञासा आएपछि स्वास्थ्य मन्त्रालयले भनेको छ,‘कोभिड–१९ विरुद्धको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन होला भन्नु भ्रम हो।
खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन।
कोभिड खोप लगाएपछि कसैमा असर देखिन्छ, कसैमा देखिँदैन। यी दुवै अवस्थामा खोपले काम गर्छ।’
यस्तै मन्त्रालयको अर्को फेसबुक पोस्टमा अर्को पनि सन्देशमूलक सूचना छ। त्यहाँ प्रश्न गरिएको छः के कोरोना लागेर सन्चो भएका मानिसले पनि खोप लगाउनुपर्छ ?
उत्तरमा भनिएको छ,‘पर्छ, पहिले नै कोभिड संक्रमण भएर अहिले सन्चो भइसकेकाले पनि खोप लगाउनुपर्छ।
एकपटक कोरोना लागिसकेका व्यक्तिले कोभिडविरुद्ध प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्तिअनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने अहिलेसम्म यकिन गर्न सकिएको छैन।
त्यसैले कोभिड लागेर निको भएकाहरुले १ महिनापछि आफ्नो पालो आएपछि खोप लगाउनु पर्छ।



