घर किन्नु बुद्धिमानी कि भाडामा बस्नु ?
हरेक मान्छेहरुको सपना हुन्छ कि आफ्नै एउटा घर होस् । र, गाडी पनि । अझ नेपालको सन्दर्भमा शहरमा घर हुनेहरुको सामाजिक स्टाटस नै माथि हुने गर्छ । विभिन्न ठाउँमा लगानी गरेर मासिक लाखौं रुपैयाँ कमाई गरिरहको भए पनि एउटा आफ्नै घर किन्न वा बनाएको छैन भने उसलाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुने गर्छ ।
त्यसैले पनि हरेक मानिस ऋणधन गरेरै भएपनि घर बनाउन खोज्छन् जसले गर्दा उसलाई समाजले इज्जत दियोस् । नेपालमा घरजग्गाको स्वामित्वलाई एक किसिमको लगानीको रुपमा लिइन्छ ।
घर भाडा लिएर बस्नुका पनि आफ्नै फाइदाहरु छन् । यसमा जिम्मेवारी र कर्तव्यका कुराहरु आउँदैनन् । जे भएपनि प्रायः मानिसहरु भाडामा बस्नुभन्दा आफ्नो घर किनेर बस्नुलाई आर्थिक रुपमा सबल भएको विश्वास राख्ने प्रोपर्टी ३६० का सञ्चालक सन्तोष प्रधानको बुझाई छ ।
बरिष्ठ हास्यकलाकार किरण केसी (राता मकै) पनि सुनचाँदी किन्ने, रेष्टुरेन्टमा गएर खाना खाने, घुमफिर गरेर पैसा सिध्याउन भन्दा बचत गरेर घरजग्गामा लगानी गर्न सुझाव दिन्छन् ।
तर, अर्का बरिष्ठ हास्यकलाकार राजाराम पौडेल घरजग्गा किनेर लगानी फसाउनुभन्दा त्यो पैसाले कुनै उद्यम व्यवसाय गर्न सुझाव दिन्छन् । ‘घर बनाउने पैसा लगानी गर्नुस्, लगानीका लागि प्रर्याप्त अवसरहरु छन्, भाडाको घरमा बस्दा पनि केही फरक पर्दैन’ उनी भन्छन्, ‘पछि व्यापार व्यवसायबाट कमाई गरेपछि त्यस्ता घरहरु धेरै बनाउन सकिन्छ ।’
तर, नेपालको सन्दर्भमा जग्गामा लगानी गर्नुपनि एक किसिमको व्यवसाय नै बनेको छ । तर, बनिबनाउ घर किन्दा वा घर बनाउँदा भविष्यमा त्यसको आशातित प्रतिफल भने आउँदैन ।
नेपालमा धेरै मानिसहरु आफ्नो स्वामित्वको घर होस् भन्ने चाहना राख्ने गरेको नेपालभूमि रियलस्टेट एजेन्सीका सञ्चालक बिक्रम लामाको अनुवभ छ । उनी थप्छन्, ‘हाम्रो मानसिकता नै यहि छ कि आफ्नो नाममा घर हुनु नै सन्तुष्टि र सुखको एउटा प्रमुख कारण हो ।’
नेपालको सहरी भेग र औद्योगिक करिडोरहरुमा घर कर्जा प्रवाह गर्ने बैंक, यस पेशामा आबद्ध एजेन्टदेखि लिएर सबैको लागि रियलस्टेट एउटा ठूलो व्यवसाय बनेको छ । यो हाम्रो सामाजिक तथा सांस्कृतिक मानसिकता र अर्थव्यवस्थाको एउटा पाटो नै बनिसकेको अर्थशास्त्री नै स्वीकार गर्छन् ।
यो ध्रुव सत्य भइसक्यो कि घरको मालिक हुनु भाडाको घरमा बस्नुभन्दा उत्तम नै हो । कतिपय अवस्थामा घरमा गरेको लगानी फ्रिज गर्नुभन्दा व्यापार व्यवासमा लगानी गर्दा त्यसले दिने प्रतिफल ज्यादा हुन्छ भन्ने हामीले भुलेका हुन्छौं ।
घर भाडामा बस्ने कि किन्ने भन्ने विषयमा आ–आफ्ना पक्ष विपक्षका र्तक हुन्छन् । घर किनेर बस्नु र भाडामा बस्नुका पनि आफ्नै जटिलताहरु पनि छन् ।
त्यसैले घर भाडामा लिनु वा घर किन्नुमध्ये कुन तपाईंका लागि उचित हो आफै निर्णय लिनुपर्ने हुन्छ । तपाईंले उचित निर्णय लिनका लागि दुबै पक्षका फाइदा बेफाइदा बारेमा जानकारी हुनैपर्छ ।
घर भाडामा बस्नु
सरकारी तथ्यांकले नै देखाउँछ, काठमाडौं उपत्यकामा आफ्नो घरमा बस्ने बासिन्दाको संख्याभन्दा भाडाको घरमा बस्नेहरुको संख्या अत्याधिक धरै छ । त्यसैले त काठमाडौं उपत्यकामा घरभाडा ठूलो व्यवसाय नै बनिसकेको छ । अर्थविद् केशव आचार्य काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शहरमा घरभाडा आम्दानीको ठूलो स्रोत बन्न थालेको बताउँछन् । त्यसैले पनि घर भाडामा लिएर बस्दैमा हिनताबोध गरिहाल्नुपर्ने अवस्था छैन ।
घर भाडामा लिएर बस्नुको अर्थ तपाईले सम्झौताको म्याद सकिएपछि वा आफूले चाहेका बेलामा कुनै अतिरिक्त शुल्क वा जरिवाना नतिरीकन अन्यत्र सर्न सक्नुहुन्छ । अर्थात् शहर भरिका घरहरु तपाईंका आफ्नै हुन सक्छन् जहाँ तपाईं भाडा तिरेर फरक फरक टोल र घरमा सरीसरी बस्न सक्नुहुन्छ ।
फेरी घरधनीले सो घर बेच्न खोजेमा वा त्यसको पुनर्निर्माण गर्न चाहेमा तपाईले जुनसुकै समयमा त्यहाँबाट सर्नुपर्ने हुन सक्छ । यस्तो बेलामा घरधनीले तपाइलाई हटाउनका लागि तपाईंले तिर्न सक्ने वा तपाईको क्षमताले भ्याउने भन्दा बढी असान्दर्भिक तवरले भाडा बढाउन सक्छन् ।
हामीमा के भ्रम हुन्छ भने, भाडामा बस्दा प्रत्येक महिना अनावश्यक रुपमा धेरै पैसा खेर फालिरहेका छौ । तर, यो कुरा सत्य होइन । तपाइलाई आवासको लागि ठाउँ चाहिन्छ र जुनसुकै तरिकाबाट पनि त्यसमा पैसा खर्चिनै पर्ने हुन्छ । तर, हरेक महिना तपाईको कमाइको ठूलो हिस्सा भाडामा खर्च हुदा तपाइको बजेटलाई पनि असर चाहीँ पारेको हुन्छ ।
घरजग्गा कारोबारी सन्तोष प्रधानका अनुसार भाडामा बस्दा प्रत्येक महिना आवासको लागि कति खर्च हुन्छ भन्ने राम्रो जानकारी हुन्छ । आफ्नो स्वामित्वमा घर रहेको छ भने मासिक रुपमा घर कर्जाको किस्ता र नियमित बिलहरुको भुक्तानी गर्नुपर्ने हुन्छ । त्यो बाहेक तपाइले घरमा हुने भौतिक क्षति वा समस्याको समाधानको लागि मर्मत सम्भारमा पैसा खर्च गर्नुपर्ने हुन्छ ।
तर, भाडामा बसेको सन्दर्भमा भने घरमा हुने यस्ता किसिमका निर्माण र मर्मतमा तपाइले पैसा खर्च गर्नु पर्दैन । भाडामा बस्दा मासिक रुपमा घरको भाडामात्र तिर्नुपर्ने भएकाले थप खर्च व्यहोर्नु नपर्दा सस्तो पर्न आउने रेन्टल व्यवसायीहरु बताउँछन् ।
भाडामा बस्दा प्रत्येक चोटी सम्झौता नविकरण गर्दा वा घरधनीले चाहेको बेला भाडादर बढाइरहने समस्या भने पक्कै पनि झेल्नुपर्ने हुन्छ । तपाई सुविधा सम्पन्न शहरमा भाडाको घरमा बस्नुहुन्छ भने पक्कै पनि भाडादर महँगो पर्ने र बढ्दै जाने हुन्छ । यस्तै, घर धनीले पनि घर कर्जा लिएको छ भने मासिक रुपमा किस्ता र घरको अन्य करहरु नियमित तिर्नुपर्ने फ्याफुल्ला रियलस्टेट सर्भिसेजका तुल बहादुर तामाङ बताउँछन् ।
घर आफ्नो स्वामित्वमा हुनुलाई अर्थोपार्जनको तरीकाको रुपमा पनि लिइन्छ । स्थान विशेषले घरको मूल्यांकन घटाउन पनि सक्ने रियलस्टेट एजेन्सीहरुको तर्क छ । मानिसहरुको अरुचीको कारणले गर्दा धेरै वर्षसम्म पनि कुनै स्थानमा घर जग्गाको मूल्यमा वृद्धि हुन नसकेका प्रशस्त उदाहरणहरु हुन्छन् ।
त्यहि स्थानमा कुनै वैकल्पिक आवास निर्माण भएमा तपाईको घरको मूल्यांकन ओरालो लाग्न सक्छ । उदाहरणका लागि तपाईले कुनै ठाउँमा २ करोड रुपैयाँमा घर किन्नुभयो र दशौं वर्षपछि पनि त्यसको मूल्यांकन २ करोड नै रहिरह्याे भने मान्नुहोस कि मुद्रास्फ्रिती पछि तपाईले आफ्नो पैसा गुमाउनु भयो ।
यस्तो अवस्थामा घर किन्नु वा बनाउनु भन्दा अरुको घर भाडमा लिएर बस्नु नै बुद्धिमानी ठहरिन सक्छ । हास्यकलाकार राजाराम पौडेल सकिनसकी घर बनाउनुसको सट्टा त्यो पैसा अन्यत्र लगानी गरेर आफुले सक्दो भाडाको घरमा बस्नु बुद्धिमानी ठहरिने बताउँछन् ।
घर मालिक हुनु
हास्यकलाकार किरण केसी (राता मकै) का अनुसार आफ्नै घर हुनुका धेरै फइदाहरु छन् । ‘पहिलो कुरा त घरजग्गा जोड्नु आफैमा लगानी हो, ऋणधन गरेर घरजग्गा किन्दा कमाउनु र बचाउनुपर्छ भन्ने धाराणा पनि विकास हुन्छ’ उनी भन्छन्, ‘सबैले पैसा भएरै घरजग्गा किन्ने पनि होइनन्, बैंकबाट ऋण लिएर किस्ता बुझाउँदै किन्ने हुन्, त्यसैले बैंकबाट ऋण लिन नडराउनुस्, कमाएर तिर्न सकिहाल्छु भन्ने अठोट लिनुपर्छ ।’
अर्को फाइदा स्थायित्व, समुदायसँग सम्बन्धित भावना र घर मालिक हुनुको गर्व अर्कै हुन्छ । जो कोहीलाई काम गरेर साँझ आफ्नो घरमा आएर आराम गर्न मन लाग्छ । भाडामा बस्दा यस्ता खाले सबै स्वतन्त्रता नमिल्न पनि सक्छ ।
घरजग्गा व्यवसायीका अनुसार रियल स्टेट भनेको तरल सम्पत्ती हो । यसको मूल्यमा स्थिरता रहँदैन । घरजग्गा बजार ओरालो लागेको छ भने तपाईले चाहेर पनि आफू खुशी मूल्यमा बेच्न सक्नुहुन्न । यदि बजार उकालो लागेको छ भने भनेको मूल्यमा घर बिक्री गरेर अन्यत्र सर्न सक्नुहुन्छ ।
घर किनेपछि मर्मत सम्भाररदेखि धेरै कष्ट ब्यहोर्नुपर्ने हुन्छ । यसै पनि घर महंगो मूल्य तिरिएर किनिएको हुन्छ । भाडामा बस्नेले तिर्नु नपर्ने तर घरधनीले तिर्नुपर्ने केहि नियमित खर्चहरु यस्ता छन् ।
१ . सम्पत्ती कर
२. पानी, बिजुली र फोहोरमैला व्यवस्थापन शुल्क
३. बीमा शुल्क
४. मर्मत र पुनःनिर्माणको खर्च
५. घरमा रहेको बगैंचाको व्यवस्थापन खर्च आदि
घरको नविकरण र मर्मतमा खर्च गर्दैमा त्यसले घरको मूल्यांकनमा वृद्धि हुन्छ भन्ने कुराको सुनिश्चितता गर्दैन । बरु तपाईले घर भाडामा लिने मानिस पाउन सक्नुहुन्छ र उचित मूल्यमा घर भाडामा लगाउनभने सहज हुन्छ ।
कुन विकल्प तपाईको लागि उत्तम भन्ने कुराको निर्धारण पैसाले मात्र गर्दैन । आफ्नो जीवनशैलीप्रति तपाईको दृष्टिकोण र तपाईको अनुकुलताले पनि प्रत्यक्ष प्रभाव पार्ने कलाकार पौडेल बताउँछन् ।
भाडामा बस्नु भनेको पैसाको बर्बादी र घर आफ्नो स्वामित्वमा हुनु भनेको समृद्धि र आर्थिक उपार्जनको उपाय हो भन्ने गलत धारणा लिन नहुने जानकार बताउँछन् । घरजग्गा बजार र मानिसको जीवनशैलीमा व्यापक अन्तर रहन्छ । अरुको कुरा नसुनेर आफ्नो आर्थिक एवम मानसिक अवस्थालाई मध्यनजर गरी निर्णय लिनु उचित हुने प्रोपर्टी ३६० का सञ्चालक प्रधान बताउँछन् ।
धेरैजसोलाई वैवाहिक बन्धनमा बाधिइसकेपछि मात्र घर किन्नु राम्रो हुन्छ भन्ने लाग्छ । तर, यसमा उमेर, धर्म र संस्कृतिले खास असर गर्दैन । आफू सम्पूर्ण तवरले योग्य भएपछि मात्र घर किन्ने निर्णय लिनु उत्तम हुन्छ ।
नेपालभूमिका सञ्चालक लामा भन्छन्, ‘घरजग्गाको मूल्य घट्ने सम्भावना ज्यादै नै कम हुने भएकोले यसमा लगानी गर्दा लगानी डुब्ने भन्ने हुदैन ।’आफ्नो आयआर्जनले घर किन्न सक्षम भएमा सबै पक्षलाई ध्यानमा राखेर धेरै कुरामा विचार पुर्याएर किन्नु बुद्धिमानी हुने देखिन्छ ।
यदि रियलस्टेट बजार धेरै माथि पुगिसकेको छ भने केहि समय भाडामै बस्नु उत्तम हुन्छ । धेरै जोखिम, ठूलो लागत, घरधनीको हैसियतले गर्नुपर्ने अतिरिक्त खर्चहरु र जिम्मेवारी वहनको कारण पनि कतिपय मानिस भाडामै बस्न रुचाउछन् ।
साभार नेपाल होमबाट



