Logo

प्रदेश १ को नामकरण ढिलाइ भएकोमा सांसदको आपत्तिः पहिचानको पक्षमा मत बल्लियो


 

मुन्धुमस्टार डटकम — प्रदेश १ का सांसदहरुले प्रदेश नामकरणमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन । प्रदेशसभाको शुक्रबारको बैठकमा सरकारले अटेरी गर्दा नामकरणमा ढिलाइ भएको प्रदेशसभा सदस्यहरुले बताएका हुन ।

कांग्रेसका प्रदेशसभा सदस्य लिला सुब्बाले प्रदेश सरकारले प्रदेशको नामकरण गर्ने प्रस्ताव अहिलेसम्म ल्याउन नसकेको भन्दै आपत्ति जनाएकी छन । ‘५ वटा प्रदेशले नाम राखिसकेको अवस्थामा हामीले चार वर्षमा पनि प्रदेशको नाम राख्न सकेनौं,’ उनले भनिन्, ‘प्रदेश सरकारको निकम्मापन र अटेरीले प्रदेशको नामकरणमा ढिलाइ भएको हो ।’ प्रदेश सरकारले तत्काल प्रदेश नामकरणको प्रस्ताव ल्याउन उनले माग गरिन ।

‘प्रदेशसभा सदस्यहरुलाई जनताले सोध्नु हुन्छ, प्रदेशको नाम कहिले र के राख्नुहुन्छ,’ सुब्बाले भनिन्, ‘प्रदेशको नामकरणको विषयमा जनतामा खुल्दुली रहेकोले प्रदेशको नामकरण प्रस्ताव तत्काल ल्याएर छलफल गर्नु पर्‍यो । अब एक वर्ष मात्रै बाँकी रहेकोले ढिलो नगरौं ।’

मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने उद्घोष गरेका छन । उनले नामकरणका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका नेतासँग छलफलसमेत सुरु गरेका हुन । उनले अब चाँडै प्रदेशसभामा प्रस्ताव ल्याएर प्रदेशको नामकरण गर्ने बताए ।

प्रदेश नामकरणका लागि छलफल गर्न सत्तारुढ एमाले संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ । एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईले संसदीय दलको बैठक बोलाउन निर्देशन दीसक्नु भएकोले अब चाँडै बैठक बोलाउने बताए ।

प्रदेशको नामकरणमा सत्तारुढ लगायत दलका सांसदहरु भूगोल र पहिचान गरी दुई कित्तामा बाँडिएकाले ढिलाइ भएको हो । आदिवासी जनजाति सांसदहरु पहिचानको पक्षमा रहेका छन भने ब्राह्मण, क्षेत्री, मधेसी सांसदहरु भूगोलको आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा छन । माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका साथै आदिवासी जनजाति प्रदेश सांसदहरु पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा देखिन्छन ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले प्रदेश नामकरणको विषय प्रत्येक अधिवेशनमा उठाउँदै आए पनि सरकारको बेवास्ताले टुंगो नलागेको बताए । उनले मुख्यमन्त्री राईले छलफलसमेत गरेकाले यस पटक प्रदेशको नामकरण हुने सम्भावना रहेको बताए ।विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सहमति हुँदा नामकरण धेरै ठूलो विषय नभएको बताएका छन ।
जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामकरणमा अब पनि ढिलाइ गर्न नहुने बताएका छन । प्रदेशसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्