खोप लगाउन पनि सोर्सफोर्स !
सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूह बाहिरकाले समेत खोप लगाएको पाइएको छ ।
योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो ।
सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ ।
तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् ।
काठमाडौँसहित केही जिल्लामा लक्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् ।
काठमाडौँमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् ।
यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो ।
जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अ’पागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए ।
उपलब्ध खोपको आधारमा पालिकाहरूले केही निर्णय गरेको हुनसक्ने उनी बताउँछन् ।
उनका अनुसार पालिकाले लक्षित समूह नछुट्नेगरी १८ वर्षमाथिकालाई खोप लगाउने निर्णय गरेको पाइएको छ ।
‘लक्षित समूहले खोप पाएनौं भनेर आउने अवस्था स्थानिय तहले दिनुभएन,’ डा. गौतमले भने, ‘लक्षित समूहलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।’
लक्षित समूहलाई खोप लगाई खोप बाँकी रहेमा सम्बन्धित जिल्ला वा स्थानीय तहको समन्वय समितिमा निर्णय गराई अन्यलाई लगाउनसक्ने स्वास्थ्य मन्त्रालय बताउँछ ।
राजधानी दैनिकबाट



